२०८३ भाद्र ५ गते , शुक्रबार

जापानमा भद्रपुरकी लक्ष्मी राजवंशी मृत फेला, हत्या आशंकामा अनुसन्धान तीव्र

sajilo news
झापा
२०८३ भाद्र ४ गते , विहीबार
जापानमा भद्रपुरकी लक्ष्मी राजवंशी मृत फेला, हत्या आशंकामा अनुसन्धान तीव्र

भद्रपुर । अध्ययनका लागि जापानको फुकुओका पुगेकी झापा भद्रपुरकी २५ वर्षीया लक्ष्मी राजवंशी मृत अवस्थामा फेला परेकी छन् । भद्रपुर नगरपालिका–७ अन्जनीमोडकी राजवंशीको शव बुधवार बिहान फुकुओका सहरको नाका नदीमा फेला परेको हो । जापानी सञ्चारमाध्यमका अनुसार उनी नेपाली नागरिक तथा फुकुओकामा अध्ययनरत विशेषज्ञ विद्यालय (सेन्मोन गाक्कोउ) की विद्यार्थी थिइन् ।

नाका नदीमा महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रारम्भमा घटना दुर्घटना वा अन्य कारणबाट भएको हुनसक्ने कोणबाट अनुसन्धान गरिएपनि पछि प्रहरीले घटनालाई हत्या भएको निष्कर्ष निकालेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीका अनुसार राजवंशी बस्दै आएको कोठामा ठूलो मात्रामा रगत बगेको अवस्था देखिएको थियो । कोठामा प्रेसर कुकर र चक्कुसमेत भेटिएको बताइएको छ । घटनास्थल र उनको बसोबास गर्ने स्थानमा देखिएका अवस्थाका आधारमा प्रहरीले घटनालाई गम्भीर रूपमा अनुसन्धान गरिरहेको छ ।

जापानी सञ्चारमाध्यमका अनुसार राजवंशीको मृत्यु १९ अगस्टको बिहान हुनुअघि नै भएको अनुमान गरिएको छ । शव फेला परेपछि गरिएको न्यायिक परीक्षणबाट मृत्युको समयसमेत निर्धारण गरिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ अघि बढाएको बताइएको छ । घटनाको वास्तविक कारण, राजवंशीको मृत्यु कसरी भयो र घटनामा संलग्न व्यक्तिबारे प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।

सम्बन्धित समाचार