गरिमा चौधरीको न्यायका लागि झापामा क्यान्डल मार्च
अमानवीय ढङ्गले बलात्कारपछि हत्या गरिएकी नाबालिका गरिमा चौधरीको न्यायका लागि झापामा क्यान्डल मार्च आयोजना गरिएको छ ।
आज साँझ ५ः४० बजेदेखि बिर्तामोड नगरपालिका–४ स्थित पुरानो भद्रपुर रोडबाट स्वतन्त्र युवाहरूको आयोजनामा क्यान्डल मार्च निकालिएको थियो । बिर्तामोडका स्वतन्त्र युवा जीवन भण्डारीको नेतृत्वमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ मा दशधुरेकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोध तथा दोषीलाई कडा कारबाहीको माग गर्दै शान्तिपूर्ण क्यान्डल मार्च आयोजना गरिएको हो ।
उक्त मार्चपास बिर्तामोड बजार परिक्रमा गरी मुक्ति चोकमा पुगी समापन भएको थियो । अपराधीलाई कडाभन्दा कडा कानुनी कारबाही होस् र पीडितले शीघ्र न्याय पाओस् भन्दै सरकारको ध्यानाकर्षण गराउन काँकडभिट्टाका सचेत युवाहरूले पनि क्यान्डल मार्च निकालेका थिए ।
तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेर पक्राउ परेका २ जनालाई संविधान संशोधन गरेर भएपनि फाँसीको सजाय दिनु पर्छ भन्दै काँकडभिट्टामा स्वतःस्फूर्त रूपमा स्थानीयले दीप प्रज्वलनसहित विरोध र्याली गरेका थिए ।
र्यालीको सहजीकरण सक्रिय युवा बिक्की मजुमदारले गरेका थिए भने समापन महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले गरेकी थिइन् ।
यसैबीच, महिला जनचेतना केन्द्रको अगुवाइमा शुक्रबार विहान ७ बजे हनुमान मन्दिर परिसरमा पनि यस्तै विरोध र्याली हुने जनाएको छ ।त्यस्तै बारा सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीको जघन्य हत्याको विरोधमा सुरुङ्गामा दीप प्रज्वलन गरिएको छ।
गरिमाको हत्याको विरोध तथा उनको सम्झनामा आयोजित कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। उनीहरूले घटनामा संलग्न दोषीलाई कानुनअनुसार कडा कारबाही गरी पीडित परिवारलाई न्याय दिलाउन माग गरेका छन्। बालिकाको निर्मम हत्याले समाजलाई स्तब्ध बनाएको भन्दै सहभागीहरूले यस्ता जघन्य अपराधविरुद्ध राज्य गम्भीर बन्नुपर्ने बताएका थिए।