२०८३ भाद्र ८ गते , सोमबार

काँकडभिट्टामा १८ लाख रुपैयाँ बढीको मोबाइल पार्ट्स बरामद

sajilo news
झापा
२०८३ भाद्र ८ गते , सोमबार
काँकडभिट्टामा १८ लाख रुपैयाँ बढीको मोबाइल पार्ट्स बरामद

झापाको पूर्वी नाका काँकडभिट्टामा तस्करी गतिविधि नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको मोबाइल पार्ट्स बरामद गरेको छ।

सशस्त्र प्रहरीले बरामद गरेको मोबाइल पार्ट्सको भन्सार मूल्य १८ लाख १ हजार रुपैयाँ रहेको जनाएको छ। बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि सोमबार दिउँसो २ः५० बजे मेची भन्सार कार्यालय, काँकडभिट्टामा दाखिला गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिए।

शनिबार राति १२ः४० बजे मेचीनगर नगरपालिका–४ स्थित माताचोक सीमा इलाकाबाट भारततर्फबाट केही व्यक्तिहरूले टाउकोमा बोकेर नेपालतर्फ ल्याउँदै गरेको मोबाइल पार्ट्स सशस्त्र प्रहरीले बरामद गरेको हो।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी बाहुण्डाँगीबाट सशस्त्र प्रहरी नायब निरीक्षक रुद्रवीर राईको कमान्डमा खटिएको सात जनाको पैदल गस्ती टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा सामान बोकेका व्यक्तिहरूलाई देखेको थियो।

गस्ती टोलीलाई देखेपछि सामान बोकेका व्यक्तिहरूले सामान छाडेर भारततर्फ फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। त्यसपछि गस्ती टोलीले सामान नियन्त्रणमा लिएर जाँच गर्दा चार बोरा विभिन्न किसिमका आईफोन मोबाइलका पार्ट्स फेला परेको थियो। बरामद मोबाइल पार्ट्स आवश्यक कानुनी प्रक्रिया पूरा गर्न मेची भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार