२०८३ भाद्र १२ गते , शुक्रबार

भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह

sajilo news
रासस
२०८३ भाद्र ११ गते , विहीबार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा झापाका धेरैजना परेको हुनसक्ने आशङ्का गरिएको छ । बाढीमा झापाका धेरैजना परेको हुनसक्ने आशङ्का गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । तर, अहिलेसम्म कसैले पनि आफ्‌ना आफन्त हराएको भनेर जानकारी नगराएको सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले बताए ।

झापाबाट रसुवामा काम गर्न जाने, गोसाईंकुण्ड घुम्न जाने , व्यवसायका लागि पुग्नेहरू बाढीमा परेका हुन् । जनै पूर्णिमाको अवसरमा गोसाईंकुण्ड दर्शनका लागि काठमाडौँबाट रिजर्भमा गएका बसहरू ठुलो सङ्ख्यामा सम्पर्कविहीन भएका छन्।

रसुवाको बाढीपछि बुद्ध शान्तिका एकै परिवारका तीन जना सम्पर्कविहीन भएका छन् । रसुवामा बसोबास गर्दै आएका झापा बुद्धशान्ति स्थायी ठेगाना भएका राजकुमार दियाली, सृष्टि दियाली र उनका ३ वर्षीय छोरा श्रीराज दियाली बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको जनाइएको छ।

त्यस्तै भोटेकोशीको भीषण बाढीपछि मेचीनगर–६ का दीपक खरेल सम्पर्कविहीन बनेका छन् । उनी रसुवा अप्पर त्रिशूलि तुसाम कोरियन कम्पनी (हाइड्रो प्रोजेक्ट) मा कार्यरत थिए ।

त्यस्तै गौरीगञ्ज निवासी २८ वर्षीय केवलनाथ आचार्य बाढी प्रभावित क्षेत्रबाट बुधवार बिहानदेखि परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन् । उनी करिब ६ महिनादेखि अपर त्रिशूली जलविद्युत् आयोजनामा सेफ्टी इन्जिनियरका रूपमा कार्यरत रहेको परिवारले जनाएको छ। परिवारका अनुसार आचार्य आइतबार मात्र काममा फर्किएका थिए।

त्यस्तै एन्ड्रिज हाइड्रो प्रोजेक्ट अपर त्रिशूलीमा कार्यरत गौरीगञ्ज ३ का चुड्का टुडु हिजोदेखि आफ्नो परिवारको सम्पर्कमा नरहेको जनाइएको छ ।

यसैबीच रसुवाको गोसाईंकुण्ड तीर्थयात्रामा रहेका गौरीगञ्ज गाउँपालिका–३ का वडाध्यक्ष श्रवण गिरीसहित सात जना सकुशल रहेको खबर प्राप्त भएको छ। गिरीकी श्रीमतीसहित सातै जना तीर्थयात्री सुरक्षित रहेको गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पूजन न्यौपाने कुँवरले जानकारी दिएकी छन्।

यसैबीच जिल्ला प्रहरी कार्यालय झापाले झापा जिल्लाबाट रसुवा लगायतका बाढी प्रभावित जिल्लाका विभिन्न क्षेत्रहरूमा रोजगारी, व्यापार तथा अन्य कामको सिलसिलामा गएका व्यक्तिहरू आफ्ना आफन्तहरूसँग सम्पर्कमा आएको नआएको यकिन गर्न तथा जोखिमपूर्ण अवस्थामा भएको पाइएमा खोज तथा उद्धारको लागि नजिकको प्रहरी कार्यालय, स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालय, झापामा जानकारी गराउन अनुरोध गरेको छ ।

सम्बन्धित समाचार