रसुवागढी नाका बन्द भएपछि कोरलातर्फ बढे मालवाहक कन्टेनर
मुस्ताङ । रसुवागढी–केरुङ नाका विनाशकारी बाढीका कारण बन्द भएपछि चीनबाट नेपाल भित्रिने मालवस्तु तथा कन्टेनर मुस्ताङको कोरलानाकातर्फ डाइभर्ट हुन थालेका छन्।
सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले आइतबार साँझसम्म ६६ वटा मालवाहक कन्टेनरको विवरण सङ्कलन गरेको छ। रसुवागढी नाका पूर्णरूपमा बन्द भएपछि कोरलातर्फ आउने कन्टेनरको सङ्ख्या बढ्दै गएको प्रहरीले जनाएको छ।
कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढीबाट पैठारी हुने मालवस्तु कोरलानाकातर्फ डाइभर्ट गरिएकाले ढुवानीका लागि त्यसतर्फ जानुपर्ने अवस्था आएको छ।
सरकारले कोरलानाकालाई वैकल्पिक नाकाका रूपमा सञ्चालनमा ल्याएपछि कोला भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ। मुस्ताङ भन्सार कार्यालयमा १८ जनाको दरबन्दी रहे पनि हाल १२ जना कर्मचारी कार्यरत छन्।