२०८३ भाद्र १५ गते , सोमबार

रसुवा बाढीमा ९०३ जनाको मृत्यु, ४ हजार २४७ जना अझै सम्पर्कविहीन

sajilo news
झापा
२०८३ भाद्र १५ गते , सोमबार
रसुवा बाढीमा ९०३ जनाको मृत्यु, ४ हजार २४७ जना अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्य जारी रहेकै बेला मानवीय क्षति र सम्पर्कविहीनको संख्या ठूलो देखिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विहान सार्वजनिक गरेको विवरणअनुसार बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा ९०३ जनाको मृत्यु भएको छ भने करिब ४ हजार २४७ जना सम्पर्कविहीन छन्।

प्राधिकरणका अनुसार फेला परेका शवमध्ये रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ वटा रहेका छन्।

बाढीबाट २६७ जना घाइते भएका छन्। घाइतेमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा ६ वटा सर्जिकल मेडिकल टिम परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी २५, नेपाली सेना ४५, सशस्त्र प्रहरी बल नेपाल १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ३ जना रहेका छन्। यस्तै, रसुवाबाट ८६५ र नुवाकोटबाट १ हजार ५५८ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ। जलविद्युत् आयोजनाबाट १३३, मकवानपुरबाट ६५, सम्पर्कविहीन विदेशी नागरिक ५९२ र विदेशी पर्यटकसँग घुम्न गएका नेपाली १२७ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

१० हजार ४५१ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रमा हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले हेलिकोप्टरमार्फत २५२ जना विदेशी र ३ हजार ३४४ जना नेपालीको उद्धार गरेको प्राधिकरणले जनाएको छ। भदौ १४ गते हाइड्रोपावर क्षेत्रबाट १५ जना चिनियाँ र ७ जना भारतीय नागरिकको समेत उद्धार गरिएको छ।

हालसम्म ४११ पटक हवाई उडानमार्फत खोज तथा उद्धार गरिएको छ। त्यसमध्ये भदौ १५ गते मात्रै १७ वटा उडान भएको विवरणमा उल्लेख छ। खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित २० हजार ५०९ सुरक्षाकर्मी परिचालन भएका छन्। नेपाल प्रहरीका ७ हजार ५८४, नेपाली सेनाका ८ हजार ७२२ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्।

तीन जिल्लामा करोडौंको नगद राहत

नेपाल सरकारले बाढी प्रभावित क्षेत्रमा तत्काल राहतका लागि रसुवा र नुवाकोटमा एक–एक करोड रुपैयाँ तथा धादिङमा ५० लाख रुपैयाँ उपलब्ध गराएको छ। प्रभावित १५ स्थानीय तहका लागि थप ६ करोड ७५ लाख रुपैयाँ राहत रकम परिचालन गरिएको प्राधिकरणले जनाएको छ। यस्तै, प्रभावित क्षेत्रमा डिजेल २५ हजार लिटर, पेट्रोल २१ हजार लिटर र हवाई इन्धन १० हजार लिटर मौज्दात रहेको जनाइएको छ।

राहत सामग्री पठाउने क्रम जारी

प्रभावित क्षेत्रमा हालसम्म ३७ ट्रक र ३५ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। हेलिकोप्टरबाट ८ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्रीसमेत प्रभावित क्षेत्रमा पुर्‍याइएको छ। भदौ १३ गते दुई टन खाद्य सामग्री उत्तरगया र धुन्चे क्षेत्रमा पठाइएको थियो। त्यसैगरी भदौ १४ गते रसुवामा स्थल तथा हवाईमार्गबाट पोर्टेबल जेनेरेटरसहित खाद्य, औषधि तथा स्वास्थ्य सामग्री पठाइएको छ। नुवाकोटमा पनि १६ वटा सवारीसाधन तथा हेलिकोप्टरमार्फत राहत सामग्री परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

२१ अस्पतालमा पहिचान नखुलेका शव

बाढीपछि फेला परेका पहिचान नखुलेका शव विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ। ती शवको विवरण प्राधिकरणको सामाजिक सञ्जाल तथा नेपाल प्रहरीको सम्बन्धित प्रणालीमार्फत सार्वजनिक गरिएको छ। विपद्पछि सम्पर्कविहीन भएका नेपाली तथा विदेशी नागरिक र उद्धार गरिएका व्यक्तिको विवरणसमेत सम्बन्धित निकायले संकलन गरिरहेको छ। सरकारले खोज, उद्धार, राहत तथा शव व्यवस्थापनलाई तीव्रता दिएको जनाएको छ।

सम्बन्धित समाचार