२०८३ भाद्र २० गते , शनिबार

पश्चिम बंगालका प्रख्यात न्युरो सर्जन डा. चाङको निधन

sajilo news
झापा
२०८३ भाद्र २० गते , शनिबार
पश्चिम बंगालका प्रख्यात न्युरो सर्जन डा. चाङको निधन

भारतीयसँगै ठूलो संख्यामा नेपाली बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका प्रख्यात न्युरो सर्जन तथा डा. चाङ्स सुपर स्पेशालिटी हस्पिटलका संस्थापक डा। डब्लु। एच। चाङको ८२ वर्षको उमेरमा निधन भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनको दुई दिनअघि निधन भएको हो। लामो समयदेखि उत्तर बङ्गाल क्षेत्रमा न्युरो सर्जरी सेवामा सक्रिय डा। चाङलाई मस्तिष्क तथा मेरुदण्डसम्बन्धी जटिल रोगको उपचार र शल्यक्रियामा अनुभवी चिकित्सकका रूपमा चिनिन्थ्यो।

माटिगाडामा उनले स्थापना गरेको डा। चाङ्स सुपर स्पेशालिटी हस्पिटल पछिल्लो समय उत्तर बङ्गालसहित दार्जिलिङ, कालिम्पोङ, डुवर्स, सिक्किम तथा नेपालको पूर्वी सीमावर्ती जिल्लाका बिरामीका लागि समेत महत्वपूर्ण स्वास्थ्य गन्तव्य बनेको थियो।

विशेषगरी नेपालका झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायत सीमावर्ती क्षेत्रबाट मस्तिष्क, नसासम्बन्धी समस्या तथा मेरुदण्डका जटिल रोगको उपचारका लागि बिरामीहरू उक्त अस्पताल पुग्ने गरेका थिए। नेपालमा आवश्यक विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध नहुँदा सीमावर्ती क्षेत्रका धेरै बिरामीका लागि डा। चाङ र उनको अस्पताल भरोसाको केन्द्र बनेको थियो।

डा। चाङले न्युरो सर्जरी क्षेत्रमा लामो समय योगदान पुर्‍याएका थिए। जटिल प्रकृतिका मस्तिष्क तथा मेरुदण्डसम्बन्धी शल्यक्रियामा उनको दक्षताका कारण उनी बिरामी र स्वास्थ्यकर्मीबीच समेत परिचित नाम बनेका थिए।

चिकित्सकका रूपमा मात्रै नभई सीमावर्ती क्षेत्रका बिरामीलाई सहज र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानमा उनको योगदान महत्वपूर्ण रहेको बताइन्छ। उपचारका क्रममा नेपाली बिरामीसँग समेत निकट सम्पर्कमा रहने गरेका डा। चाङप्रति नेपालका धेरै बिरामी तथा परिवारले विश्वास र सम्मान व्यक्त गर्दै आएका थिए।

उनको निधनको खबरले उत्तर बङ्गालको चिकित्सा क्षेत्रसँगै नेपालका सीमावर्ती जिल्लाका बिरामी तथा स्वास्थ्यकर्मीहरूमा समेत दुःखको वातावरण सिर्जना भएको छ।

डा। चाङको निधनसँगै उत्तर बङ्गाल र नेपालका हजारौँ बिरामीले एक अनुभवी र भरोसायोग्य चिकित्सक गुमाएका छन्। उनको निधनलाई चिकित्सा क्षेत्रमा अपूरणीय क्षतिका रूपमा लिइएको छ।

सम्बन्धित समाचार