भोटेकोशी बाढीपीडितको सहयोगार्थ भद्रपुरमा साइकल राइड
भद्रपुर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगार्थ देशभरका साइकल क्लबहरूसँगै भद्रपुर साइकल सोसाइटीले भद्रपुरमा विशेष साइकल राइड कार्यक्रम सम्पन्न गरेको छ।
बाढीपीडितका लागि राहत तथा सहयोग जुटाउने उद्देश्यले शनिबार देशभर एकै दिन सञ्चालन गरिएको अभियानअन्तर्गत सोसाइटीले पनि चेतनामूलक साइकल राइड तथा कोष सङ्कलन कार्यक्रम आयोजना गरेको हो।
शनिबार बिहान ६ बजे भद्रपुरस्थित महेन्द्र उद्यानमा भेला भएका साइकल राइडरहरूले र्यालीसहित अभियान सुरु गरेका थिए। महेन्द्र उद्यानबाट सुरु भएको राइड चन्द्रगढी काली मन्दिर शक्तिपीठ, लेखनाथ चोक, गिरीचोक, बसपार्क, लक्ष्मीनारायण मन्दिर, कृष्ण मन्दिर हुँदै दुर्गा मन्दिर, भद्रपुर बजार पुगेर समापन गरिएको थियो।
राइडका क्रममा सहभागीहरूले बाढीपीडितलाई सहयोग गर्न आह्वान गर्दै विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने सन्देशसमेत दिएका थिए। कार्यक्रममा सहभागी राइडरहरूबाट स्वेच्छिक रूपमा आर्थिक सहयोगसमेत सङ्कलन गरिएको थियो। सोसाइटीमा आबद्ध सम्पूर्ण राइडर, पदाधिकारी, साधारण सदस्य तथा आजीवन सदस्यहरूलाई समेत भोटेकोशी बाढीपीडितको राहतका लागि सहयोग गर्न आह्वान गरेको छ।
सङ्कलन भएको सहयोग रकममा सोसाइटीको आफ्नै कोषबाट थप ५ हजार रुपैयाँ प्रदान गरी एकमुष्ट रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको सोसाइटीले जनाएको छ।
सोसाइटीका अध्यक्ष जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव प्रवेश न्यौपानेले सञ्चालन गरेका थिए। कार्यक्रममा कोषाध्यक्ष देवीबहादुर श्रेष्ठ तथा कार्यसमिति सदस्यहरू बेनम योङहाङ, युवराज लावती, प्रभा ढकाल र शर्मिला अधिकारीको उपस्थिति रहेको थियो।
त्यस्तै, सोसाइटीका आजीवन सदस्य केञ्चु निरौला, सल्लाहकारहरू मनोज सिंह र लोककुमार श्रेष्ठ तथा पेडल लाइफ हल्दिबारीका सन्तोष दाहालसहित स्थानीय साइकल राइडरहरूको उल्लेख्य सहभागिता रहेको थियो।
विपद्का बेला राहत तथा उद्धारका लागि सहयोग जुटाउने अभियानमा साइकल राइडमार्फत एकजुट भएका राइडरहरूले स्वास्थ्य, वातावरण र सामाजिक सेवाका क्षेत्रमा साइकल संस्कृतिको प्रवर्द्धनसँगै मानवीय सेवामा समेत आफ्नो भूमिका देखाएका छन्।
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि देशभरबाट विभिन्न संघसंस्था, नागरिक समूह तथा व्यक्तिहरूले राहत तथा उद्धारका लागि सहयोग जुटाउँदै आएका छन्।