भद्रपुर र दमकमा निकालियो राधाकृष्ण रथयात्रा
झापाको सदरमुकाम भद्रपुर र दमकमा राधाकृष्ण रथयात्रा हर्सोउल्लासका साथ मनाइएको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भगवान् श्रीकृष्ण रथयात्रा निकालिने धार्मिक परम्पराअन्तर्गत यसवर्ष भद्रपुर र दमक रथयात्रा निकालिएको थियो। जिल्लामा भव्य तथा शान्तिपूर्ण रुपमा रथयात्रा सम्पन्न भएको जनाइएको छ।
जिल्ला सदरमुकाम भद्रपुरमा २४औँ भगवान् राधाकृष्ण रथयात्रा निकालिएको थियो। भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्कीले रथमा भगवान् श्रीकृष्णको विशेष पूजाअर्चना गरे पश्चात् भद्रपुर—५स्थित लक्ष्मीनारायण मन्दिर अगाडिबाट रथ निकालिएको थियो।
सयौँ भक्तजनहरूको सहभागितामा निकालिएको रथयात्रा बसपार्क, झापा चोक, संगमचोक, सगरमाथा चोक, गार्मेन्ट चोक, लेखनाथ चोक, चन्द्रगढी बजार, एसपीमोड हुँदै क्याम्पस मोड, अस्पताल चोक, जनता चोक, भद्रपुर बजारबाट पुनः लक्ष्मीनारायण मन्दिरमा गएर समापन गरिएको थियो । सो रथयात्रामा देवीदेवताको भेसभुसामा सजिएका बालबालिका, लाखे नृत्य, विभिन्न झाँकी समेत प्रदर्शन गरिएको श्रीकृष्ण रथयात्रा उत्सव समारोह समितिका अध्यक्ष मुकेश मित्रुकाले जानकारी दिए।
रसुवाको भोटेकोशीको विनाशकारी बाढीले देशमा ठूलो जनधनको क्षति भएकोले यसबर्षको ऐतिहासिक राधाकृष्ण रथयात्राको भेटी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिन उनको भनाई छ।
बाढीबाट धेरै नागरिक घरबारविहीन भएकाले उनीहरूको राहतका लागि सहयोग जुटाउने उद्देश्यले रथयात्रालाई सहयोग अभियानसँग जोडिएको समितिका उपाध्यक्ष भीमासिंह राजपूतले जानकारी दिए । विसं. २०५९ सालमा काठको पाङ्ग्राले बनाइएको रथ जीर्ण भएपछि भद्रपुर नगरपालिकाले टायरको पाङ्ग्रासहित फलामले रथ बनाइदिएपछि त्यही रथलाई निरन्तरता दिँदै आएको जनाइएको छ।
त्यस्तै दमक नगरपालिकामा १० औं श्रीकृष्ण रथयात्रा भव्यताका साथ निकालिएको थियो। दमकको राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा नगर परिक्रममा गरी पुनः सोही मन्दिरमा पुगेर समापन गरिएको थियो। रथयात्रामा विभिन्न झाँकी समेत प्रदर्शन गरिएको थियो। आयोजकले रसुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवङ्गत भएकाहरूप्रति श्रद्धाञ्जली स्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।