२०८३ भाद्र २२ गते , सोमबार

दिल्लीमा पाँच तले भवन भत्किँदा ६ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८३ भाद्र २२ गते , सोमबार
दिल्लीमा पाँच तले भवन भत्किँदा ६ जनाको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीस्थित दिल्ली विश्वविद्यालय (डीयू) को साउथ क्याम्पस नजिकै रहेको सत्य निकेतनमा एक पाँच तले पेइङ गेस्ट (पीजी) भवन भत्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन्।

आइतबार दिउँसो करिब ३० वर्ष पुरानो उक्त जर्जर भवन अचानक भत्किएको हो। भत्किएको भवनको भग्नावशेषमा अझै केही मानिसहरू पुरिएको आशङ्का गरिएको छ। घटनालगत्तै राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ), दिल्ली प्रहरी र दमकल टोलीले निरन्तर उद्धार कार्य जारी राखेका छन्।

भारतका विभिन्न राज्यहरूबाट अध्ययनका लागि दिल्ली पुगेका विद्यार्थीहरू सो पीजीमा बस्दै आएका थिए। भवनको भुइँतलामा मर्मतसम्भारको काम भइरहेका बेला जग कमजोर भई सिङ्गो भवन खसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

घटनापछि दिल्ली प्रहरीले भवन धनी हरिराम र ठेकेदारविरुद्ध गैर-इरादतन हत्या (लापरवाहीका कारण मृत्यु गराएको) र सुरक्षा मापदण्ड उल्लङ्घन गरेको अभियोगमा मुद्दा दर्ता गरी खोजी तीव्र बनाएको छ। 

दुर्घटनापछि सार्वजनिक भएका सीसीटीभी फुटेज र भिडियोहरू अत्यन्तै भयावह देखिएका छन्। भग्नावशेषभित्र पुरिएका केही विद्यार्थीहरूले मोबाइल फोनबाट सम्पर्क गरी उद्धारका लागि गुहार मागेका थिए। अहिले घटनास्थलमा एनडीआरएफका ७० भन्दा बढी सुरक्षाकर्मी, डग स्क्वाड र प्राविधिक टोलीहरू परिचालन गरिएका छन्। भग्नावशेषमुनि थुनिएकाहरूलाई सास फेर्न सहज होस् भन्ने उद्देश्यले अक्सिजन सिलिन्डरहरू भित्र पठाउने व्यवस्था मिलाइएको छ।

स्थानीय बासिन्दाहरूले पनि उद्धार कार्यमा सहयोग गरिरहेका छन्। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै दिल्लीका मुख्यमन्त्रीले न्यायिक छानबिनका साथै प्रशासनिक अनुसन्धानको आदेश दिएका छन्।

सम्बन्धित समाचार