२०८३ भाद्र २२ गते , सोमबार

अमेरिकामा कार्गो विमान दुर्घटना, पाँचजनाको मृत्यु

sajilo news
एजेन्सी
२०८३ भाद्र २२ गते , सोमबार
अमेरिकामा कार्गो विमान दुर्घटना, पाँचजनाको मृत्यु

अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान अवतरणका क्रममा दुर्घटना भएको छ। रनवेबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्।

पोर्टो रिकोको सान जुआनस्थित लुइस मुनोज मारिन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बोइङ ७६७–३०० कार्गो विमान स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे मियामीमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको थियो। 

विमान करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा रनवेबाट बाहिरिएको थियो। रनवेबाट बाहिरिएपछि विमानले कैयौँ सवारीसाधनलाई ठक्कर दिएको थियो। त्यसपछि विमानमा भीषण आगलागी भएको थियो। विमानको अगाडिको भाग धसिने गरी रोकिएको थियो।

घटनालगत्तै करिब २०० जना अग्निनियन्त्रक उद्धार तथा आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो। घाइते पाँचजनामध्ये तीन जनालाई गम्भीर अवस्थामा स्थानीय ट्रमा सेन्टर र अन्य दुईजनालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।

अमेजनकी प्रवक्ता केली नान्टेलले विज्ञप्तिमार्फत दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। उनले मृतकका परिवार तथा दुर्घटनाबाट प्रभावित सबैप्रति अमेजनका तर्फबाट समवेदना व्यक्त गरेकी छन्।

सम्बन्धित समाचार