रिपब्लिककी जोहेइरी मोला डोमिन्गेज बनिन् ‘मिस वर्ल्ड २०२६’
डोमिनिकन रिपब्लिककी जोहेइरी मोला डोमिन्गेजले ‘मिस वर्ल्ड २०२६’को उपाधि चुमेकी छन्। शनिबार भियतनामको न्हा ट्राङमा आयोजित ७३औँ मिस वर्ल्डको ग्राण्ड फिनालेमा मोला डोमिन्गेजले विश्व सुन्दरीको ताज आफ्नो पोल्टामा पारेकी हुन्।
विश्वभरबाट सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस वर्ल्डको उपाधि जितेकी हुन्। उनको जितसँगै डोमिनिकन रिपब्लिकले ४४ वर्षपछि दोस्रोपटक मिस वर्ल्डको उपाधि जितेको छ। यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले डोमिनिकन रिपब्लिकका लागि पहिलोपटक मिस वर्ल्डको ताज जितेकी थिइन्।
प्रतियोगितामा स्पेनकी एलिजाबेथ रेयनेस अलाबेर्न फर्स्ट रनरअप तथा मलेसियाकी तानुसिया चेट्टी सेकेन्ड रनरअप घोषित भइन्। प्रतियोगितामा नेपालबाट लुना लुइँटेल सहभागी भएकी थिइन्। उनले ट्यालेन्ट विधामा उत्कृष्ट प्रदर्शन गर्दै २३ फाइनलिस्टमध्ये स्थान बनाउन सफल भएकी थिइन्। यद्यपि, लुना टप ६ मा स्थान बनाउन भने असफल भइन्।
१११ देशका सुन्दरी सहभागी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै लुनाले सामाजिक अभियान, प्रतिभा र उद्देश्यपूर्ण सौन्दर्यको अवधारणामार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान प्रस्तुत गरेकी थिइन्।
यसपटकको मिस वर्ल्ड प्रतियोगितामा सौन्दर्यसँगै सामाजिक कार्यलाई समेत विशेष प्राथमिकता दिइएको थियो। मोला डोमिन्गेजले ‘ब्युटी विथ अ पर्पज’ अभियानअन्तर्गत अवसरबाट वञ्चित बालबालिकालाई अंग्रेजी भाषा सिकाउने अभियानमा सक्रियता जनाउँदै आएकी छन्।
सान्तो डोमिंगोकी २४ वर्षीया जोहेइरी मोला शिक्षिका, पत्रकार तथा सामुदायिक अभियन्ता हुन्। उनले युनिभर्सिडाड इबेरो अमेरिकानाबाट बिजनेस म्यानेजमेन्ट एन्ड एडमिनिस्ट्रेसनमा स्नातक गरेकी छन्।
प्रतियोगिताको अन्तिम ६ मा इरिट्रिया, मलेसिया, भियतनाम, डोमिनिकन रिपब्लिक, स्पेन र दक्षिण अफ्रिकाका प्रतिस्पर्धी पुगेका थिए। मिस वर्ल्ड अर्गनाइजेसनकी सीईओ जुलिया मोर्लीले विजेता तथा रनरअपहरूको घोषणा गरेकी थिइन्।
गत वर्षकी विजेता ओपल सुचाताले ७३औँ मिस वर्ल्ड विजेता जोहेइरी मोलालाई ताज पहिर्याएकी थिइन्।मिस वर्ल्ड प्रतियोगिताले आफ्नो ७५औँ वार्षिकोत्सव मनाइरहँदा भियतनाममा ७३औँ संस्करण आयोजना गरिएको हो। १११ प्रतिस्पर्धीसहित अगस्ट ८, २०२६ मा सुरु भएको प्रतियोगिता सेप्टेम्बर ५, २०२६ मा सम्पन्न भएको हो। प्युर्टो रिकोका मिष्टर वर्ल्ड २०२४ ड्यानियल मेहिया र मिस वर्ल्ड २०१६ स्टेफनी डेल भ्यालेले कार्यक्रम सञ्चालन गरेका थिए।
प्रतियोगिताको सुरुवात १११ देशका प्रतिस्पर्धीले इभिनिङ गाउन लगाएर गरेका थिए। त्यसपछि उनीहरू भियतनामी ‘आओ दाइ’ शैलीका पोसाकमा प्रस्तुत भएका थिए। त्यसलगत्तै आयोजकले शीर्ष ४० प्रतिस्पर्धीको घोषणा गरेका थिए।शीर्ष ४० मा टप मोडल, ब्युटी विथ अ पर्पज, ट्यालेन्ट, स्पोर्ट्स, पिपुल्स च्वाइस अवार्ड तथा निर्णायकको छनोटबाट आएका विजेताहरू समावेश थिए।
मिस वर्ल्डको ७४औँ संस्करण पूर्वी अफ्रिकी मुलुक तान्जानियामा आयोजना हुने भएको छ। अब जोहेइरी मोलाले आगामी एक वर्ष मिस वर्ल्डका रूपमा विभिन्न सामाजिक तथा मानवीय अभियानमा सहभागी हुँदै विश्वभर डोमिनिकन रिपब्लिकको प्रतिनिधित्व गर्नेछिन्।