भोटेकोशी बाढीले झापाका आचार्यको मृत्यु भएको भन्दै परिवारजनले गरे काजक्रिया
रसुवाको भोटेकोशी बाढीमा झापा गौरीगञ्ज गाउँपालिका-३ ठेकीटोलाका २८ वर्षीय केबलनाथ आचार्यको मृत्यु भएको भन्दै परिवारले काजक्रिया गरेका छन् ।
भदौ १० गते नै केबलनाथको मृत्यु भएको भन्दै परिवारले हिजो उनको १२ दिनको काजक्रिया सकेका हुन् । भदौ १० गते केवलनाथ भोटेकोशीको बाढीमा परेको उनका साथीले देखेको बताएपछि मृत्यु भइसकेको ठानेर काजक्रिया गरिएको काकी रुसिका आचार्यले बताइन् ।
केवलनाथ अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत थिए । उनी करिब ६ महिनादेखि उक्त आयोजनामा सेफ्टी इन्जिनियरका रूपमा कार्यरत रहेको परिवारले जनाएको छ ।परिवारका अनुसार उनी आइतबार मात्र काममा गएका थिए । त्यसअघि दुई दिन घरमा बसेर उनी पुनः आयोजनास्थलतर्फ फर्किएका थिए । रसुवाको बाढीमा परेका झापाका दुई जनाको सकुशल उद्धार गरिएको र ९ जना अझै सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।