जापानमा निधन भएकी भद्रपुरकी लक्ष्मी राजवंशीको शव नेपाल ल्याइँदै
भद्रपुर । जापानमा असामयिक निधन भएकी झापाको भद्रपुर नगरपालिका–७ निवासी लक्ष्मी राजवंशीको शव स्वदेश ल्याइने भएको छ। गत अगस्ट १९ तारिख जापानमा दुःखद निधन भएकी राजवंशीको शव आगामी सेप्टेम्बर ११ तारिख अर्थात भदौ २६ गते नेपाल ल्याउने तय भएको हो। उनको पार्थिव शरीर धार्मिक तथा सांस्कृतिक संस्कारअनुसार अन्तिम संस्कारका लागि नेपाल ल्याउन लागिएको हो। भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलका अनुसार राजवंशीको पार्थिव शरीर जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान नम्बर (RA-434) मार्फत काठमाडौँ ल्याइनेछ।
राजवंशीको निधनको खबरले परिवार, आफन्त तथा भद्रपुरवासीलाई स्तब्ध बनाएको थियो । जापानमा रहँदा उनको निधन भएपछि शव नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको थियो । शव स्वदेश ल्याउने क्रममा आवश्यक कानुनी, प्रशासनिक तथा कूटनीतिक प्रक्रिया पूरा गर्न विभिन्न निकायबीच समन्वय गरिएको जनाइएको छ। नगर प्रमुख पोखरेलले सामाजिक सञ्जालमार्फत राजवंशीको पार्थिव शरीर स्वदेश फर्काउने प्रक्रियामा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले भद्रपुर नगरपालिका, गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी तथा सदस्यहरू, सम्बन्धित कूटनीतिक नियोग तथा अन्य सहयोगी महानुभावहरूले निरन्तर समन्वय र सहयोग गरेको उल्लेख गरेका छन् ।
राजवंशीको निधनको कारण र जापानमा उनको अवस्थाबारे थप विवरण भने सम्बन्धित निकायबाट सार्वजनिक गरिएको छैन। राजवंशीको शव गत अगस्ट १९ तारिख बिहान फुकुओका सहरको नाका नदी किनारमा फेला परेको थियो । जापानी सञ्चारमाध्यमका अनुसार उनी फुकुओकामा अध्ययनरत विशेषज्ञ विद्यालय (सेन्मोन गाक्कोउ) की विद्यार्थी थिइन् । नाका नदीमा महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
प्रारम्भमा घटना दुर्घटना वा अन्य कारणबाट भएको हुनसक्ने कोणबाट अनुसन्धान गरिएपनि पछि प्रहरीले घटनालाई हत्या भएको निष्कर्ष निकालेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँका प्रहरीका अनुसार राजवंशी बस्दै आएको कोठामा ठूलो मात्रामा रगत बगेको अवस्था देखिएको थियो । कोठामा प्रेसर कुकर र चक्कुसमेत भेटिएको बताइएको छ ।