२०८३ भाद्र २३ गते , मंगलबार

सामाजिक सञ्जालमा अफवाह र त्रास फैलाउनेविरूद्ध प्रहरीको कारबाही

sajilo news
झापा
२०८३ भाद्र २२ गते , सोमबार
सामाजिक सञ्जालमा अफवाह र त्रास फैलाउनेविरूद्ध प्रहरीको कारबाही

सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक सामग्री प्रसारण गर्नेविरुद्ध नेपाल प्रहरीले कारबाही अघि बढाएको छ।  संवेदनशील घडीमा भ्रामक सामग्री फैलाउने र पीडितहरूलाई थप पीडा दिने गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीले निगरानी बढाएको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले बाढीको दुःखी घडीमा अराजक मानसिकता बोकेका व्यक्तिहरूले बीभत्स तस्बिर तथा भिडियो पोस्ट गरी त्रास फैलाउने र सामाजिक सहिष्णुता बिगार्ने काम गरिरहेको बताएका छन्। यस्ता गतिविधि रोक्न प्रहरी निरन्तर सतर्क भएर खटिएको उनले जानकारी दिएका छन्।

प्रहरीको तथ्याङ्कअनुसार सामाजिक सञ्जाल फेसबुकमा १६८ वटा, टिकटकमा ४ वटा र इन्स्टाग्राममा १ वटा गरी कुल १७३ वटा गलत सूचना र अफवाह फैलाउने सामग्रीहरू भेटिएका छन्। जसमध्ये प्रहरीको साइबर सक्रियताका कारण फेसबुकका ७९ र टिकटकका ४ गरी जम्मा ८३ वटा सामग्री हटाइसकिएको छ।

यस्ता सामग्रीको अनुगमन तथा नियन्त्रणका लागि साइबर ब्युरोका प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय विशेष समिति गठन गरिएको छ। उक्त समितिले प्रहरीका अन्य निकाय तथा सरोकारवालासँग समन्वय गरी कानुनी कारबाही चलाउनेछ।

सम्बन्धित समाचार