२०८३ भाद्र २४ गते , बुधबार

झापाको लसुना भन्सार सञ्चालन गर्न स्थानीयको माग

sajilo news
झापा
२०८३ भाद्र २३ गते , मंगलबार
झापाको लसुना भन्सार सञ्चालन गर्न स्थानीयको माग

लामो समयदेखि बन्द रहेको झापा गाउँपालिका–१ स्थित लसुना छोटी भन्सार कार्यालय तत्काल सञ्चालनमा ल्याउन स्थानीय सरोकारवालाले माग गरेका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाले लसुना भन्सार कार्यालय परिसरमा आयोजना गरेको सीमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयवासीले भन्सार सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन्।

झापा गाउँपालिका–१ का वडाध्यक्ष राजकुमार यादवले भन्सार कार्यालय हुँदाहुँदै पनि सञ्चालनमा नआउनु दुःखद भएको बताए। भन्सार बन्द हुँदा सीमावर्ती क्षेत्रका स्थानीयवासीलाई दैनिक उपभोग्य सामग्री खरिद गर्न समेत समस्या भइरहेको उनले बताए। भारततर्फ सामान खरिद गर्न जाँदा स्थानीयले विभिन्न झन्झट व्यहोर्नुपरेको भन्दै उनले लसुना छोटी भन्सार यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरे।

नेपाली काँग्रेस झापाका जिल्ला सभापति देउकुमार थेबेले लसुना नाका काँकडभिट्टापछिको महत्त्वपूर्ण नाका भएको बताए। माओवादी द्वन्द्वका समयमा बैंक तथा भन्सार कार्यालय विस्थापित भएपछि यस क्षेत्रको आर्थिक गतिविधि प्रभावित भएको उल्लेख गर्दै उनले कोरोना महामारीपछि केही समय कर्मचारी आएर कार्यालय सञ्चालन भए पनि करिब ५–६ महिनापछि पुनः बन्द भएको बताए।

उनका अनुसार लसुना नाकाबाट भारतका ठूला बजार नजिक छन् भने करिब २१–२२ किलोमिटरको दूरीमा बहादुरगञ्जको मुख्य राजमार्ग र ७–८ किलोमिटरको दूरीमा भारतीय रेल्वे स्टेशन रहेको छ। भन्सार सञ्चालनमा आए स्थानीय आर्थिक गतिविधि बढ्नुका साथै सरकारको राजस्व संकलनमा समेत वृद्धि हुने उनले बताए। साथै, भन्सार सञ्चालनले अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रणमा समेत सहयोग पुग्ने उनको भनाइ छ।

छिमेकी राष्ट्र भारतको दिघलबैंक ग्राम पञ्चायतका मुखिया प्रतिनिधि तथा भाजपा नेता गणेशकुमार सिंहले एक वर्षभित्र दिघलवैक क्षेत्रमा भन्सार सञ्चालन हुने जानकारी आफूले पाएको बताए। उनले भन्सारका लागि आवश्यक कार्यालय भवनसमेत निर्माण भइसकेको जानकारी दिएका थिए ।

मेची भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले हाल झापामा गौरीगञ्ज छोटी भन्सार (आठमौजा) सञ्चालनका लागि अनुमति रहेको बताए। नेपालभर हाल १८ वटा छोटी भन्सार कार्यालय सञ्चालनमा रहेको जानकारी दिँदै उनले नयाँ छोटी भन्सार सञ्चालनका लागि तत्काल अनुमति नरहेको बताए।

उनले झापा गाउँपालिकाले भन्सार सञ्चालनका लागि आवश्यक कागजात तथा प्रस्ताव पठाएमा माथिल्लो निकायमा पहल गर्न सकिने बताए। दुई देशबीचको व्यापारिक नीति तथा नियमअनुसार सीमावर्ती क्षेत्रमा दुवै पक्षका भन्सार कार्यालय आवश्यक पर्ने उनको भनाइ थियो।

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाका प्रमुख एसपी सविन कर्माचार्यले छोटी भन्सार सञ्चालनमा आए राजस्व वृद्धि, अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र स्थानीयलाई दैनिक उपभोग्य वस्तु ल्याउन सहज हुने बताए। यसबाट सुरक्षा निकाय र स्थानीयबीचको सम्बन्धसमेत थप सुमधुर हुने उनको भनाइ थियो। खुला सीमाका कारण लागूऔषध नियन्त्रणमा चुनौती रहेको उनले उल्लेख गरे।

कार्यक्रममा झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया, क्षेत्रीय सभापति जयनारायण शाह, सशस्त्र प्रहरी टाघनडुब्बा बीओपी प्रमुख नारायण तामाङ, इलाका प्रहरी कार्यालय कुमरखोदका प्रमुख चुक्तबहादुर विष्ट, झापा गाउँपालिकाका विभिन्न वडाध्यक्ष, भद्रपुर भन्सार प्रमुख प्रभुनारायण मेहता, भारतीय भाजपा नेता गणेशकुमार सिंहलगायत स्थानीय सरोकारवालाको सहभागिता थियो।

कार्यक्रममा सीमा क्षेत्रका समस्या, सुरक्षा चुनौती, अवैध गतिविधि नियन्त्रण तथा स्थानीयवासीले भोग्दै आएका समस्याका विषयमा छलफल गर्दै सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउनेमा जोड दिइएको थियो।

सम्बन्धित समाचार