आजपनि ९ स्थानमा राजमार्ग पूर्णरूपमा अवरुद्ध
वर्षासँगै आएको बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्ग अरुद्ध भएका छन्। रसुवाको भोटेकोसी नदीमा आएको बाढीको कारण यही भदौ १० गतेदेखि नै पृथ्वी राजमार्गसहित रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग अवरुद्ध छन्।
पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्गमा आज पनि पूर्णरूपमा गाडी चल्न सकेको छैन। धादिङको बेनीघाट रोराङ गाउँपालिका– ७ स्थित कृष्णभिर हुँदै आज पनि गाडी चल्न सकेको छैन। त्यसैगरी बेनीघाट रोराङ गाउँपालिका– १० स्थित ज्वाङ खोला र धादिङकै गजुरी गाउँपालिका– २ चालिसेमा आज एकतर्फी मात्रै गाडी चल्ने अवस्था रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी काठमाडौँको चन्द्रागिरि नगरपालिका– २ चिसापानीमा पहिरो जाँदा आज पनि धादिङ–काठमाडौँ सडकमा एकतर्फी मात्रै गाडी चलेका छन्। त्यसैगरी आज मुगुमा मुगु–गमगढी सडक, रोल्पामा सहिद राजमार्ग, सुर्खेतमा कर्णाली राजमार्ग र दैलेखमा पनि कर्णाली राजमार्ग आज अवरुद्ध छ।
त्यसैगरी बीपी राजमार्गको खुर्कोट नेपालथोक सडक खण्डमा रातको समयमा मालबाहक र दिनमा यात्रुवाहक सवारी साधन सञ्चालन हुनेगरी पालो मिलाइएको प्रहरीले जनाएको छ।