२०८३ भाद्र २४ गते , बुधबार

सामुदायिक वनमा सालको रुख काटेर काठ चिरान गर्दै गरेका दुई जना पक्राउ

sajilo news
इलाम
२०८३ भाद्र २४ गते , बुधबार
सामुदायिक वनमा सालको रुख काटेर काठ चिरान गर्दै गरेका दुई जना पक्राउ

माई नगरपालिका–९ स्थित सोक्तिमभ्याली सामुदायिक वनमा अवैध रूपमा साल जातको रुख कटान गरी काठ चिरान गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको छ।

विशेष सूचनाका आधारमा डिभिजन वन कार्यालय, इलामका वन अधिकृत तथा सूचना अधिकारी भुवनमणि शर्माको नेतृत्वमा माई सब डिभिजन वन कार्यालय सुखानीका सशस्त्र वन रक्षकसहितको संयुक्त गस्ती टोलीले वन क्षेत्रमा गस्ती गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा माई नगरपालिका–९ विष्टगाउँका ५६ वर्षीय राजेन्द्र राई र सोही स्थानका ५० वर्षीय पेम्बा हेल्मु रहेका छन्। उनीहरूलाई साल जातको रुख कटान गरी काठ चिरान गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय, इलामका सूचना अधिकारी शर्माले जानकारी दिए।

उनका अनुसार घटनास्थलबाट साल जातको ४ वटा गोलिया र चिरान गर्दै गरेको २ वटा फक्लेटासहित ६ थानमा ३३.५३ घनफिट काठ तथा चिरान भइसकेको ८ थानमा ८.१७ घनफिट काठ बरामद गरिएको छ। यसरी जम्मा १४ थानमा ४१.७० घनफिट सालको काठ बरामद भएको हो।

त्यस्तै, काठ कटान तथा चिरानमा प्रयोग गरिएको एक थान गोर्खपुरे चिरान आरा, एक थान गल, आराको दाँत मिलाउने एक थान नारिस, एक थान मिटर टेप र एक थान दाउसमेत बरामद गरिएको वन कार्यालयले जनाएको छ।

बरामद गरिएको काठको बिगो ५६ हजार २१० रुपैयाँ कायम गरिएको छ। घटनासँग सम्बन्धित थप क्षतिको जाँचबुझ गर्नुका साथै यस कार्यमा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको सूचना अधिकारी शर्माले बताए।
 

सम्बन्धित समाचार