सर्पले डसेको बालिकालाई अस्पताल चहार्दा चहार्दै मृत्यु
घरभित्रै खेलिरहेका बेला गोमन सर्पले डसेकी सुनसरीको इटहरीकी ८ वर्षीया बालिकाको अस्पताल चहार्दा चहार्दै मृत्यु भएको छ । समयमै सर्पदंशको उपचार र आवश्यक पीआईसीयू सेवा पाउन नसक्दा इटहरी उपमहानगरपालिका–५ का अस्मित चौहानकी छोरी आस्वाना चौहानको मृत्यु भएको हो ।
घरभित्र खेल्ने क्रममा बुधबार साँझ गोमन सर्पले आस्वानाको बायाँ हातमा टोकेको थियो । सर्पले टोकेको कुरा उनले तत्काल अभिभावकलाई जानकारी गराइनन् । अवस्था गम्भीर बन्दै गएपछि मात्रै परिवारले थाहा पाएको थियो ।
परिवारका अनुसार बालिकाले सर्पले टोकेको जानकारी दिएपछि हेर्दा टोकेको हातबाट रगत बगिरहेको थियो । तत्काल उनलाई नेपाली सेनाले इटहरीमा सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रतर्फ लगिएको थियो । उपचार केन्द्रमा करिब ६ बजेतिर पुर्याइएको अभिभावकले बताएका छन् । तर, त्यहाँ १३ वर्षमुनिका बालबालिकालाई उपचार गर्न नसकिने जानकारी गराइएको परिवारको भनाइ छ ।
बालिकालाई सर्पदंश केन्द्र लैजाँदै गर्दा बान्तासमेत भएको थियो । त्यसपछि उनलाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको काका मनीराज चौहानले बताए । उनका अनुसार प्रतिष्ठानमा उपचार सुरु भए पनि पीआईसीयू (बाल सघन उपचार कक्ष) खाली नभएको जानकारी गराइयो । सर्पको विषका कारण अवस्था गम्भीर बनेकी बालिकालाई पीआईसीयूमा राखेर उपचार अघि बढाउनुपर्ने चिकित्सकले बताए पनि प्रतिष्ठानमा तत्काल पीआईसीयू सेवा उपलब्ध हुन सकेन ।
त्यसपछि अभिभावकले थप उपचारका लागि बालिकालाई मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालतर्फ लगेका थिए । साँझ करिब ७ः५० बजे अस्पताल पुर्याइएकी बालिकालाई चिकित्सकले करिब ८ः१७ बजेतिर मृत घोषणा गरेका हुन् ।