बिर्तामोडमा ठगी धन्दा चलाउने गिरोहका तीन महिला पक्राउ
झापाको बिर्तामोडमा ठगी धन्दा चलाउने गिरोहका तीन जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा खोटाङ मझुवागढी गाउँपालिका-९ का ३१ वर्षीया सम्झना राई, सुनसरी इनरुवा नगरपालिका-३ का ३५ वर्षीया दीपिका थापा र भारत दिल्ली घर भएकी २८ वर्षीया हर्पित कौर रहेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी सहायक निरीक्षक छत्रकुमारी श्रेष्ठको प्रहरी टोलीले उनीहरूलाई बुधवार दिउँसो साढे २ बजे बिर्तामोड नगरपालिका-२ रामचौकबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले अरूको बैङ्क खाता भाडामा लिएर ठगी धन्दा चलाउँदै आइरहेका थिए ।
उनीहरूले खाता खोल्ने रकम दिएर अरू व्यक्तिलाई बैङ्क खाता खोल्न लगाउने र खाता खोलिसकेकाहरूसँग भाडामा लिएर अनलाइन सट्टेवाजी, सामाजिक सञ्जाल ह्याक गरी रकम ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरूलाई ठगी सम्बन्धी आवश्यक अनुसन्धानको इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जनाइएको छ । अनलाइन सट्टेवाजी गरी ठगी गर्नेहरूले अरूको बैक खाता दुरुपयोग गर्ने गरेको पाइएको त्यसतर्फ सजग हुन प्रहरीले आग्रह गरेको छ ।