यी हुन् बिर्तामोडमा अनलाइन सट्टेबाजी खेलाएको आरोपमा पक्राउ परेका तीनजना
झापा । झापाको बिर्तामोडमा कानूनविपरीत अनलाइन सट्टेबाजी खेल्ने तथा खेलाउने गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–४ निवासी ४९ वर्षीय किरण कन्दङ्वा, सोही ठाउँका ३८ वर्षीय हेक्की श्रेष्ठ र २७ वर्षीय उज्ज्वल गुरागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–४ स्थित वृक्ष क्याफेको परिसरमा अनलाइन सट्टेबाजी खेल्ने–खेलाउने कार्य भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले बुधवार बिहान साढे ९ बजे उनीहरूलाई पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट अनलाइन सट्टेबाजी गतिविधिमा प्रयोग भएको आशङ्का गरिएका विभिन्न विद्युतीय उपकरणहरू समेत बरामद गरिएको छ। बरामद उपकरणलाई कानूनबमोजिम फेला पारी प्रारम्भिक अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताए। प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले विगत लामो समयदेखि अनलाइन सट्टेबाजीसम्बन्धी खेलहरू खेलाउने कार्य गर्दै आइरहेको जनाइएको छ।
पक्राउ परेका तीनै जनालाई झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक अधिकारीले जनाए। झापा जिल्लामा गैरकानुनी रुपमा अनलाइन जुवा खेलाउनेहरूको सङ्ख्या बढ्दै गएको छ । तीन महिनाअघि पनि बिर्तामोडमा अनलाइन सट्टेबाजीको आरोपमा दुईजना युवक पक्राउ परेका थिए।