२०८३ भाद्र २६ गते , शुक्रबार

भद्रपुर आँखा उपचार केन्द्रको नयाँ भवन उद्घाटन, निःशुल्क शिविरमा ५ सय बढीको परीक्षण

sajilo news
पार्थ मण्डल
२०८३ भाद्र २५ गते , विहीबार
भद्रपुर आँखा उपचार केन्द्रको नयाँ भवन उद्घाटन, निःशुल्क शिविरमा ५ सय बढीको परीक्षण

बिर्तामोडस्थित मेची आँखा अस्पताल अन्तरगत रहेको भद्रपुर आँखा उपचार केन्द्रको नवनिर्मित भवनको औपचारिक रूपमा उद्घाटन गरिएको छ।

भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले बिहीबार एक कार्यक्रमका बीच ओपिडी (बहिरङ्ग सेवा), ओटी (शल्यक्रिया कक्ष) तथा आइपीडी (अन्तरङ्ग सेवा) सहितको सुविधा सम्पन्न नयाँ भवनको उद्घाटन गरेका हुन् । स्थानीय दाता जयनारायण सरियाको स्मृतिमा उनका भाइ सत्यनारायण सरिया परिवारद्वारा दान प्राप्त १ बिघाको परिसरमा करिब ४ करोड रुपैयाँको लागतमा लगभग ६ महिनाअघि निर्माण सम्पन्न भएको नवनिर्मित भवन सञ्चालनमा आएसँगै नेपाल भारतका सीमावासीलाई उपचारमा थप सहज हुने भएको छ । १६ शय्याको क्षमता, आफ्नै फार्मेसी र चश्मा पसल समेत रहेको यो अस्पतालमा शनिबार बाहेक दैनिक सेवा सञ्चालन हुँदै आएको छ । 

मेची आँखा अस्पताल बिर्तामोडका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा जग्गादाता परिवारका तर्फबाट गोविन्दराम सरिया, अस्पतालका मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशी, भद्रपुर नगरपालिका–५ का वडाध्यक्ष बन्धु कार्की, नेपाल–भारत मैत्री संघ झापाका अध्यक्ष प्रदीपमणि रेग्मी तथा पत्रकार चिन्तामणि दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा मेची आँखा अस्पतालका पूर्वअध्यक्ष तथा भद्रपुर आँखा उपचार केन्द्र निर्माण समितिका संयोजक छत्र अधिकारीले केन्द्रको नयाँ भवन करिब ४ करोड रुपैयाँको लागतमा निर्माण भएको जानकारी दिए । उनका अनुसार भद्रपुरमै आँखासम्बन्धी उपचार, परीक्षण तथा शल्यक्रियाका लागि आवश्यक पूर्वाधारसहितको सेवा विस्तार गर्ने उद्देश्यले भवन निर्माण गरिएको हो।

कार्यक्रममा आँखा अस्पताल व्यवस्थापन समितिका सदस्य सुरेश वंशलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव सुरज खत्रीले कार्यक्रम सञ्चालन गरेका थिए । जग्गादाता सरिया परिवारले भवन निर्माणका लागि आवश्यक अन्य भौतिक सामग्री तथा पूर्वाधार निर्माणमा समेत निरन्तर सहयोग गर्दै आएको जनाइएको छ। नयाँ भवन सञ्चालनमा आएसँगै भद्रपुर तथा आसपासका क्षेत्रका नागरिकले आँखासम्बन्धी सामान्य परीक्षणदेखि विशेषज्ञ सेवा र आवश्यक शल्यक्रियासम्मका उपचार स्थानीय तहमै सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ। यसले विशेषगरी वृद्धवृद्धा तथा नियमित आँखा परीक्षण आवश्यक पर्ने बिरामीलाई बिर्तामोडसम्म पुग्नुपर्ने बाध्यता कम गर्ने विश्वास गरिएको छ।

उद्घाटनसँगै निःशुल्क आँखा शिविर

नवनिर्मित भवन उद्घाटनको अवसरमा भद्रपुर आँखा उपचार केन्द्रमा तीन दिने निःशुल्क आँखा शिविरसमेत सञ्चालन भइरहेको छ। भदौ २३ गतेदेखि सुरु भएको शिविर तीन दिनसम्म सञ्चालन भएको थियो । अस्पतालका अनुसार शिविरमा हालसम्म ५ सयभन्दा बढीले आँखाको परीक्षण गराइसकेका छन्। शिविरमा आँखाको सामान्य परीक्षणसँगै आँखासम्बन्धी समस्या पहिचान तथा आवश्यक परामर्शसमेत प्रदान भइरहेको जनाइएको छ। अस्पतालले नयाँ भवनसँगै सेवा विस्तार भएपछि भद्रपुर र आसपासका सर्वसाधारणलाई गुणस्तरीय आँखा उपचार सेवा थप सहज हुने जनाएको छ।

सम्बन्धित समाचार