२०८३ भाद्र २६ गते , शुक्रबार

कुशे औंशीमा भद्रपुरका १२१ ज्येष्ठ नागरिक सम्मानित

sajilo news
पार्थ मण्डल
२०८३ भाद्र २६ गते , शुक्रबार
कुशे औंशीमा भद्रपुरका १२१ ज्येष्ठ नागरिक सम्मानित

भद्रपुर । झापाको भद्रपुर-३ नम्बर वडा कार्यालयले वडाभित्रका ज्येष्ठ नागरिकलाई शुक्रबार भव्य समारोहका बीच सम्मान गरेको छ। कुशे औंशी अर्थात् बाबुको मुख हेर्ने दिनको अवसर पारेर वडा कार्यालयले १२१ जना ज्येष्ठ नागरिकलाई मिष्टान्न भोजनसहित सम्मान गरेको हो।

कार्यक्रममा सहभागी प्रत्येक ज्येष्ठ नागरिकलाई एक–एक थान छाता, खादा तथा फूलको गुच्छा प्रदान गरिएको थियो। वडा नम्बर ३ ले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै हरेक वर्ष अवलोकन भ्रमणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्ष भने कुशे औंशीको अवसर पारेर ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा सम्मान गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको भद्रपुर–३ का वडाध्यक्ष हेमबहादुर कार्कीले बताए । ज्येष्ठ नागरिकप्रति सम्मान र पारिवारिक तथा सामाजिक सम्बन्धको महत्वलाई उजागर गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष कार्कीले बताए ।

ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानलाई समाजको महत्त्वपूर्ण सम्पत्तिका रूपमा सम्मान गर्नुपर्ने उनको भनाई थियो ।  ज्येष्ठ नागरिक नगर समिति भद्रपुरका अध्यक्ष हेमप्रसाद खनालको प्रमुख आतिथ्य भएको कार्यक्रममा झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नगर अध्यक्ष राजकुमार राई, वडा ज्येष्ठ नागरिक समितिका उपाध्यक्ष पदमप्रसाद अधिकारीलगायतले ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र सामाजिक भूमिकाका विषयमा शुभकामना मन्तव्य राखेका थिए।

वडा सदस्य भूवा कुमारी पुलामी मगरले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन वडा सचिव खिलकुमार राईले गरेका थिए। वडा कार्यालयले आगामी दिनमा पनि ज्येष्ठ नागरिकको सम्मान र सामाजिक सहभागिता बढाउने खालका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित समाचार