भद्रपुरमा आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतना
विश्व आत्महत्या न्यूनीकरण दिवसको अवसरमा झापाको भद्रपुरमा आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत भद्रपुर नगरपालिका–८ स्थित एसपी मोडमा जिल्ला प्रहरी कार्यालय झापा, ट्राफिक प्रहरी र सामुदायिक सेवा केन्द्र चन्द्रगढीको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा सर्वसाधारणलाई आत्महत्या न्यूनीकरण, मानसिक स्वास्थ्य तथा जीवनप्रतिको सकारात्मक दृष्टिकोणका विषयमा सचेत गराइएको थियो। सहभागीहरूले आत्महत्या न्यूनीकरणका लागि समयमै मानसिक तथा भावनात्मक समस्या पहिचान गरी आवश्यक सहयोग र परामर्श लिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमका क्रममा सर्वसाधारणलाई आत्महत्या न्यूनीकरण तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक पर्चा–पम्प्लेट वितरण गरिएको थियो। त्यसैगरी, विभिन्न सवारी साधनका चालक तथा यात्रुलाई ट्राफिक नियमको पालना, सडक सुरक्षा र सुरक्षित यात्राका विषयमा समेत सम्झाइ–बुझाइ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै नागरिकलाई जीवनप्रति सकारात्मक सोच विकास गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको प्रभावकारी पालना आवश्यक रहेको सन्देशसमेत कार्यक्रममा दिइएको थियो।