झापामा अवैध कपडासहित मारुती भ्यान र चालक नियन्त्रणमा
झापाको शिवसताक्षीमा प्रहरीले भन्सार छली गरी ल्याइएको अवैध कपडासहित मारुती भ्यान र चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा शिवसताक्षी नगरपालिका–१० स्थित फाल्गुनन्द चोकबाट प्रदेश ३–०१–०२३ च २४७५ नम्बरको मारुती कार्गो (इको) भ्यान नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार भ्यानमा भन्सार छली गरी ल्याइएका विभिन्न प्रकारका लत्ताकपडा फेला परेको थियो। भ्यानसहित बरामद गरिएको सामानको कुल मूल्य ९ लाख २९ हजार १ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। अवैध सामान गाडी चालक भद्रपुर नगरपालिका–५ का ३० वर्षीय राकेश लिम्बूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चालक लिम्बूसहित बरामद गरिएका अवैध सामान र भ्यानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।