चोरीका पाँच थान मोबाइल र नगदसहित एक दम्पती पक्राउ
चोरी गरी भारततर्फ लैजाँदै गरेको पाँच थान मोबाइल र नगद रकमसहित प्रहरीले विराटनगरबाट शुक्रबार एक दम्पतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–४ का २२ वर्षीय कृष्ण साह र उनकी पत्नी २३ वर्षीया बबिता बुढाथोकी रहेका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार बिहान करिब ८ बजेतिर विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट दम्पतीलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय रानी सीमाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनीहरूलाई शंका लागेर चेकजाँच गरेको थियो । त्यस क्रममा उनीहरूको साथबाट चोरी गरी लैजाँदै गरेको विभिन्न कम्पनीका पाँच थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद मोबाइलमा रेडमी–७, रेडमी ए–५, सामसुङ, होनर र एप्पल कम्पनीका एक–एक थान रहेका छन् । त्यस्तै, उनीहरूको साथबाट नेपाली नगद ७ हजार ४ सय ३५ रुपैयाँ र भारतीय नगद १ हजार ८ सय रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
मोबाइल र नगदसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको डीएसपी मिश्रले बताए ।