२०८३ भाद्र २७ गते , शनिबार

झापामा लागूऔषध सेवन गर्ने तीनजना सहचालक पक्राउ

sajilo news
झापा
२०८३ भाद्र २६ गते , शुक्रबार
झापामा लागूऔषध सेवन गर्ने तीनजना सहचालक पक्राउ

झापामा लागूऔषध सेवन गर्ने तीनजना सहचालक पक्राउ परेका छन् । मेचीनगरमा चालक/सह-चालकहरूले लागूऔषध सेवन गरेको नगरेको सम्बन्धमा ३४ जनाको स्वास्थ्य परीक्षण गर्दा ३ जनाले लागूपदार्थ सेवन गरेको पाइएको हो । ती सह-चालकहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताएका छन् ।

आज दिउँसो १ः४० बजेबाट मेचीनगर नगरपालिका-७ प्रनिक पेट्रोल पम्पस्थित महेन्द्र राजमार्ग सडक खण्डमा चालक/सह-चालकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पूर्व–पश्चिम राजमार्गमा सञ्चालित यात्रुवाहक सार्वजनिक सवारी साधनहरू (बस, म्याजिक भ्यान आदि) का चालक सहचालकहरूले लागूऔषध सेवन गरेको नगरेको कीटमार्फत परीक्षण गरिएको प्रहरी निरीक्षक राईले जानकारी दिए । सवारी साधनहरूको डग स्निफिङद्वारा चेकजाँच गरिएको थियो । ट्राफिक प्रहरीले नियमित रुपमा सवारी चालकहरूलाई मादक पदार्थ सेवन (मापसे) र लागूऔषध सेवन (लापसे) चेकजाँच गर्दै आएका छन् ।

सम्बन्धित समाचार