जापानमा हत्या भएकी लक्ष्मी राजवंशीको शव भद्रपुर ल्याइयो
भद्रपुर । जापानको फुकुओका सहरमा हत्या भएकी झापा भद्रपुर नगरपालिका–७ निवासी २५ वर्षीया लक्ष्मी राजवंशीको शव आज बिहान भद्रपुर ल्याइएको छ।
बिहीबार काठमाडौं आइपुगेको राजवंशीको शव भद्रपुर नगरपालिकाको शव वाहनमार्फत आज बिहान उनको भद्रपुर–७ स्थित निज निवास ल्याइएको हो।
परिवारका अनुसार लक्ष्मीको अन्तिम संस्कार तथा श्रद्धाञ्जली कार्यक्रम आज बिहान १० बजे भद्रपुर नगरपालिका–७, देउनियाँस्थित विश्रान्ति घाटमा गरिनेछ। लक्ष्मीको हत्या आरोपमा जापानी प्रहरीले २८ वर्षीय सञ्जु तामाङ, २५ वर्षीया असुमिता तामाङ र २२ वर्षीय प्रवीण लामालाई पक्राउ गरेको छ।
जापानी सञ्चारमाध्यमका अनुसार गत भदौ ३ गते ९अगस्ट १९० फुकुओका सहरस्थित नाकागावा नदीमा लक्ष्मी मृत अवस्थामा भेटिएकी थिइन्। नदीमा घोप्टो परेको अवस्थामा भेटिएकी उनको अनुहार तथा टाउकोमा चोट रहेको जनाइएको छ।
उनी टी–सर्ट र छोटो पाइन्ट लगाएको अवस्थामा थिइन् भने खुट्टामा जुत्ता थिएन। घटनाबारे अनुसन्धानका क्रममा जापानी प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
फुकुओका प्रहरीका अनुसार चुओ वार्डमा बस्दै आएकी लक्ष्मी व्यावसायिक विद्यालयमा अध्ययनरत थिइन्। घटनाको थप अनुसन्धान जापानी प्रहरीले गरिरहेको छ।