इलाममा अटो दुर्घटना, आमा-छोरीको मृत्यु
इलाममा भएको अटो दुर्घटनामा आमा छोरीको मृत्यु भएको छ । शुक्रबार साँझ ५ बजे इलाम फाकफोकथुम गाउँपालिका ६ हाङ्मासुलीस्थित पोखरी–कमेरे भित्री कच्ची सडक खण्डमा मधेश प्र–०३–००३ह ६९६७ नम्बरको अटोमा दुर्घटना भएर आगो लागेको थियो । अटो अचानक अनियन्त्रित भई सडकबाट २ मिटर तल झरी पेट्रोल लिकेज भएको थियो । जसबाट आगलागी भएको बताइएको छ ।
सो दुर्घटनामा घाइते भएका इलाम नगरपालिका ७ तिल्केनी घर भई फाकफोकथुम गाउँपालिका ६ हाङ्मासुली माइती भएकी वर्ष २७ की कविता श्रेष्ठ र उनकी छोरी वर्ष ८ की खुसिका भन्ने सुस्मिता श्रेष्ठको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । सुस्मिताको गएराति ८ः१५ बजे र उनकी आमा कविताको आज बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम उदासले बताए ।
त्यस्तै गम्भीर अवस्थाका अटो चालक इलाम फाकफोकथुम गाउँपालिका ६ पोखरी बजार बस्ने वर्ष ३५ का लोकबहादुर श्रेष्ठको बीएण्डसी अस्पतालमै उपचार भइरहेको छ । सो दुर्घटनामा ६ जना घाइते भएका थिए । हिजो कुशे औँसीका दिन बुवाको मुख हेर्न माइती हिँडेका महिलाहरू दुर्घटनामा परेको बताइएको छ ।