२०८३ भाद्र २७ गते , शनिबार

भोटेकोशी बाढीपीडितलाई झापाका कैदीबन्दीहरुको ३ लाख ३३ हजार सहयोग

sajilo news
झापा
२०८३ भाद्र २७ गते , शनिबार
भोटेकोशी बाढीपीडितलाई झापाका कैदीबन्दीहरुको ३ लाख ३३ हजार सहयोग

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारका लागि झापा कारागारमा रहेका कैदीबन्दीहरूले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ राहत सहयोग गरेका छन् । झापा कारागारमा शनिबार बिहान आयोजित कार्यक्रममा कारागारका आन्तरिक प्रशासन प्रमुख मनोज लावतीले उक्त रकम झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
देशमा ठूलो विपद् आइपरेका बेला आफ्नो गाँस र सुविधाबाट रकम कटाएर पीडितको सहयोगमा जुटेका कैदीबन्दीहरूले यसअघि पनि विभिन्न विपद्का समयमा आर्थिक सहयोग गर्दै आएका छन् । कारागारभित्र रहेर पनि विपद्मा परेका नागरिकप्रति सहयोग र मानवीय भावना प्रदर्शन गरेको भन्दै उनीहरूको कार्यको प्रशंसा गरिएको छ ।
राहत रकम हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलले कैदीबन्दीहरूले आफूले पाउने गाँस तथा सुविधाबाट समेत रकम छुट्याएर बाढीपीडितलाई सहयोग गर्नु ठूलो मानवीय कार्य भएको बताए । उनले सहयोगका लागि कैदीबन्दीलाई धन्यवादसमेत दिए ।
कार्यक्रममा प्रजिअ पोखरेलले ‘बन्दी स्मारिका’ को समेत विमोचन गरे । कारागार जीवनलाई सुधार र आत्मअनुशासनको अवसरका रूपमा लिन आग्रह गर्दै उनले नियमित ध्यान तथा अध्ययन गर्ने बानीले मानिसमा रहेको रिस, आवेग र नकारात्मक सोच नियन्त्रण गर्न सहयोग पुग्ने बताए । उनले कारागारमा बिताउने समयलाई आफूभित्र सकारात्मक परिवर्तन ल्याउने अवसरका रूपमा उपयोग गर्न कैदीबन्दीलाई आग्रह गरे । केही दिनअघि मात्र झापामा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी पोखरेललाई कैदीबन्दीहरूले कार्यक्रममा सम्मानसमेत गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्का, झापा कारागारका प्रमुख रेवन्त भट्टराईलगायतको उपस्थिति रहेको बन्दी विकास पुस्तकालयका सचिव रमेश पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार