२०८३ भाद्र २७ गते , शनिबार

झापामा जेईको कहर : भद्रपुरमा पनि बालकको मृत्यु, मृतकको संख्या ७ पुग्यो

sajilo news
पार्थ मण्डल
२०८३ भाद्र २७ गते , शनिबार
झापामा जेईको कहर : भद्रपुरमा पनि बालकको मृत्यु, मृतकको संख्या ७ पुग्यो

झापा । जापानिज इन्सेफ्लाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोको संक्रमणबाट झापामा थप एक बालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–८ निवासी ८ वर्षीय अविनाश टुडुको जेई संक्रमणबाट मृत्यु भएको भद्रपुर नगर स्वास्थ्य शाखाले जनाएको छ । अविनाशलाई भदौ ८ गते उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो । अस्पतालमा परीक्षणका क्रममा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएपछि थप उपचारका लागि भदौ १० गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (घोपा) पठाइएको थियो ।
घोपामा करिब १४ दिनसम्म उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि परिवारले उनलाई घर ल्याएका थिए । घरमै राखेर उपचार तथा हेरचाह गरिरहेका अवस्थामा शुक्रबार उनको मृत्यु भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । अविनाशको मृत्युसँगै झापामा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार यसअघि मेचीनगरमा दुई जना तथा बिर्तामोड, बाह्रदशी, अर्जुनधारा र हल्दीबारीमा एक–एक जनाको जेई संक्रमणबाट मृत्यु भइसकेको छ । पछिल्लो समय जिल्लामा जेई संक्रमणसँगै मृत्युसमेत बढेपछि संक्रमण नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
स्वास्थ्य कार्यालयले आगामी असोज ५ गतेदेखि जिल्लामा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । अभियानअन्तर्गत ३० वर्षमाथिका करिब ४ लाख ९३ हजार ३ सय १९ जना नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयका प्रमुख ब्रिजकुमार दासले जानकारी दिए । स्वास्थ्य कार्यालयले अभियानलाई प्रभावकारी बनाउन आवश्यक तयारी अघि बढाएको जनाएको छ ।
जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो। संक्रमण भएपछि उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने तथा स्नायुसम्बन्धी गम्भीर समस्या देखिन सक्ने भएकाले समयमै उपचार र रोगको रोकथाममा विशेष सावधानी आवश्यक हुन्छ ।

सम्बन्धित समाचार