२०८३ भाद्र २७ गते , शनिबार

तस्करी धन्दा : परिवार बस्ने भन्दै कोठा भाडामा, भन्सार छलेका कपडा ल्याएर भण्डारण

sajilo news
मोरङ
२०८३ भाद्र २७ गते , शनिबार
तस्करी धन्दा : परिवार बस्ने भन्दै कोठा भाडामा, भन्सार छलेका कपडा ल्याएर भण्डारण

विराटनगरमा परिवार बस्ने भन्दै घरको कोठा भाडामा लिएर तस्करको समूहले भारतबाट तस्करी गरी ल्याइएका कपडा भण्डारण गर्ने गोदाम बनाएको पाइएको छ ।

विराटनगर महानगरपालिका–८ मधुमारास्थित एक घरबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भण्डारण गरिएको रेडिमेड कपडा बरामद गरेपछि यस्तो तथ्य खुलेको हो । सशस्त्रका अनुसार घरको कोठाबाट ११ बोरा कपडा बरामद भएको छ । बरामद कपडामा कुर्ता, टप्सलगायतका रेडिमेड कपडा छन् । बरामद भएको कपडाको मूल्य ७ लाख ६१ हजार ८ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । । कपडासँगै एउटा स्टेपलाइजर पनि बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार परिवार बस्ने प्रयोजनका लागि भन्दै परशुराम पौडेलको घरको कोठा ६ महिनाअघि भाडामा लिएको पाइएको छ । तर, भाडामा लिइएको कोठामा मानिस नबसी भारतबाट रातको समयमा तस्करी गरेर ल्याइएका कपडा लुकाएर राख्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

भारतको जोगबनीबाट भन्सार छली नेपाल भित्र्याइएका कपडा मधुमारास्थित उक्त घरको कोठामा ल्याएर राख्ने र त्यसपछि विराटनगरसहित विभिन्न सहरमा पठाउने गरिएको भण्डारीको भनाइ छ । उनका अनुसार भारतबाट तस्करी गरेर कपडा ल्याई कोठामा भण्डारण गरिएको सूचना पाएपछि शनिबार बिहानका राति करिब २ बजेदेखि सशस्त्र प्रहरीले घरलाई निगरानीमा राख्दै घेरा हालेको थियो ।

उज्यालो भएपछि नेपाल प्रहरी, भन्सार कार्यालयका कर्मचारी र जनप्रतिनिधिलाई बोलाएर कोठाको ताला फुटाई खानतलासी गरिएको उनले बताए । प्रहरीका अनुसार उक्त कोठामा करिब ६ महिनादेखि कपडा भण्डारण हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । भारतबाट अवैध रूपमा ल्याइएका कपडा उक्त घरमा थुपार्ने र मागअनुसार अन्यत्र पठाउने गरिएको सशस्त्रले जनाएको छ ।

यद्यपि, कोठा भाडामा लिएर कपडा भण्डारण गर्ने व्यक्तिको विवरण सार्वजनिक गरिएको छैन । कोठा भाडामा लिने व्यक्ति फरार रहेको र उनको खोजी तीव्र पारिएको एसपी भण्डारीले बताए । बरामद कपडा तथा अन्य सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धानसमेत अघि बढाइएको छ ।

चाडपर्व नजिकिँदै गर्दा खुला सीमाको प्रयोग गरी तस्करी बढ्न थालेको देखिएको छ । भारतबाट क्यारिङमार्फत भन्सार छली गरेर लत्ताकपडा, खाद्यान्न, मोटर पार्ट्सलगायतका सामग्री नेपाल भित्र्याएर विराटनगरका विभिन्न स्थानमा अस्थायी रूपमा भण्डारण गर्ने र पछि अन्य सहरतर्फ पठाउने प्रवृत्ति देखिँदै आएको छ । त्यस्तै, विराटनगर–५ हरिहरपथका हरिबहादुर कार्कीको घरमा मनोज चौधरी भन्ने व्यक्तिले भाडामा लिएको कोठाबाट पनि तस्करीको कपडा बरामद भएको छ । सशस्त्र र नेपाल प्रहरी तथा भन्सार कार्यालयको संयुक्त टोलीले सानो र ठूलो गरेर १० पोका कपडा बरामद गरेको हो ।

 

सम्बन्धित समाचार