२०८३ भाद्र २७ गते , शनिबार

गलगलियामा ब्राउनसुगर र एम्फेटामिनसहित दुई कारोबारी पक्राउ, कटुवा पेस्तोल र गोली पनि बरामद

sajilo news
झापा
२०८३ भाद्र २७ गते , शनिबार
गलगलियामा ब्राउनसुगर र एम्फेटामिनसहित दुई कारोबारी पक्राउ, कटुवा पेस्तोल र गोली पनि बरामद

भद्रपुर । झापाको भद्रपुर सीमासँग जोडिएको भारतको गलगलियामा ठूलो परिमाणमा लागु औषधसहित दुईजना पक्राउ परेका छन्। उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र गोलीसमेत बरामद भएको भारतीय प्रहरीले जनाएको छ ।

पक्राउ परेको लागू औषध कारोबारीले भद्रपुर नाका भएर ब्राउन सुगर नेपाल सप्लाई गर्दै आइरहेका थिए । भारतको एसएसबी ४१औँ बटालियन रानिडाँगा तथा बिहार प्रहरीको एन्टी नार्कोटिक्स टास्क फोर्स (एएनटीएफ) खटिएको विशेष टोलीले शनिवार बिहान ७ः१० बजे किशनगञ्ज जिल्लाको गलगालिया प्रहरी थाना क्षेत्रअन्तर्गत लकडी डिपोमा रहेको मोहम्मद हसिमको घरमा छापा मारेको थियो। उक्त स्थान सीमा स्तम्भ नम्बर १०२/३ बाट करिब ५५० मिटर भारततर्फ रहेको जनाइएको छ। छापा कारबाहीका क्रममा ५७ वर्षीय मोहम्मद हसिमको घरबाट ५०७ ग्राम ब्राउन सुगर र ८१४ ग्राम सेतो धुलोजस्तो पदार्थ बरामद भएको छ। उक्त सेतो पदार्थ एम्फेटामिन (एमडीएमए) भएको आशङ्का गरिएको छ।
बरामद सामग्रीमा एक थान म्यागजिनबिनाको कटुवा पेस्तोल, एक राउन्ड गोली र एक थान मोबाइल फोनसमेत रहेको भारतीय प्रहरीले जनाएको छ।
प्रारम्भिक परीक्षणका लागि डीडी किट प्रयोग गर्दा बरामद पदार्थ ब्राउन सुगर र एमडीएमए (एम्फेटामिन) भएको जनाइएको छ। घटनास्थलबाट मोहम्मद हसिम र ३० वर्षीया रुक्सार खातुन पक्राउ परेका छन्। हसिम गलगालिया थाना क्षेत्रको लकडी डिपो निवासी हुन् भने खातुन गलगालिया क्षेत्रकै भादगाउँस्थित छानु टोलकी बासिन्दा हुन्। बरामद लागुऔषध, हतियार तथा पक्राउ परेका दुवै जनालाई थप कानुनी कारबाहीका लागि गलगालिया प्रहरी थानामा बुझाइएको छ।

सम्बन्धित समाचार