अनलाइन सट्टेबाजीमा झापाबाट आठ जना पक्राउ, फेरिँदै आर्थिक अपराधको शैली
प्रविधिको विस्तारसँगै आर्थिक अपराधको स्वरूप पनि बदलिँदै गएको छ । पहिले प्रत्यक्ष रूपमा हुने सट्टेबाजी, ठगी र अवैध आर्थिक कारोबार अहिले मोबाइल, डिजिटल वालेट, बैङ्क खाता, क्यूआर कोड र सामाजिक सञ्जालमार्फत हुन थालेका छन् । कोशी प्रदेशमा पछिल्ला तीन आर्थिक वर्षको प्रहरी विवरणले अनलाइन माध्यमबाट हुने सट्टेबाजीको गतिविधि विस्तार हुँदै गएको संकेत गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको विवरण अनुसार पछिल्ला तीन आर्थिक वर्षमा प्रदेशका विभिन्न जिल्लामा अनलाइन सट्टेबाजीको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६ जना पुरुष र दुई जना महिला छन् । प्रहरी विवरणअनुसार सुनसरीबाट तीन जना र झापाबाट पाँच जना पक्राउ परेका हुन् । आर्थिक वर्ष २०८१/०८२ मा सुनसरीबाट तीन पुरुष पक्राउ परेका छन् ।
सोही आर्थिक वर्ष झापाबाट एक पुरुष र दुई महिला गरी तीन जना पक्राउ परेको विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०८२÷०८३ मा झापाबाट थप दुई पुरुष पक्राउ परेका छन् । चालू आर्थिक वर्ष २०८३/०८४ को भदौ २४ गते तीन जनालाई पक्राउ गर्न झापा प्रहरी सफल भएको छ । अन्य जिल्लामा समेत अनलाइन सट्टेबाजीसम्बन्धी निगरानी भने बढाईको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक शेखर खनालले बताए ।
कोशी प्रदेश प्रहरी कार्यालयको तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा अनलाइन सट्टेबाजीसम्बन्धी पक्राउमा झापा अगाडि देखिएको छ । प्रदेशका १४ जिल्लामध्ये उपलब्ध तथ्याङ्कमा सुनसरी र झापा दुई जिल्लामा मात्रै पक्राउ परेको उल्लेख छ । अन्य जिल्लाबाट सो अवधिमा पक्राउ परेको सङ्ख्या उक्त विवरणमा छैन । हालसम्म अन्य जिल्लामा पक्राउ नपरेको प्रहरीले जनाएको छ । तीन आर्थिक वर्षमा पाँच जना र चालू आर्थिक वर्षको हालसम्ममा तीन जना गरेर झापामा मात्रै आठ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
अनलाइन सट्टेबाजीको गतिविधि ती जिल्लामा मात्रै सीमित छ भन्ने अर्थ भने दिँदैन प्रहरी डीआजी खनालले भने– प्रहरीले विभिन्न प्रकृतिका डिजिटल आर्थिक अपराधको अनुसन्धान गर्ने क्रममा संलग्न व्यक्तिमाथि कारबाही गर्दै आएको भए पनि उपलब्ध तालिकामा मुद्दा दर्ता शीर्षक ‘अनलाइन सट्टेबाजी’ अन्तर्गत परेको पक्राउ मात्रै समेटिएको छ । अनलाइन बेटिङमा सामान्यतया मोबाइल तथा इन्टरनेटको प्रयोग हुने भएकाले भौगोलिक सीमाले यसको गतिविधिलाई रोक्न कठिन हुने बताइएको छ । एउटा जिल्लामा बसेर अर्को जिल्लामा रहेका व्यक्तिको बैङ्क खाता वा डिजिटल माध्यम प्रयोग गर्न सकिने भएकाले यसको अनुसन्धान पनि परम्परागत अपराधभन्दा जटिल बन्दै गएको डीआईजी खनालले बताए ।
डीआईजी खनालले भने–युवापुस्ता अनलाइन सट्टेबाजी लगायतका विभिन्न अनलाइन गेमहरूमा सक्रिय हुँदा आर्थिक अपराध बढ्दै गएको छ । प्रदेश प्रहरीको सिमित स्रोत साधनका बाबजुद पनि हामीले डिजिटल रुपमा हुने अपराध नियन्त्रणका लागि विभिन्न सचेतना मूलक कार्यक्रमसँगै तीव्र रुपमा अनुसन्धानलाई पनि अघि बढाएका छौँ । पछिल्लो समय देखिएको अर्को चिन्ताजनक प्रवृत्ति भनेको सर्वसाधारण, विशेषगरी आर्थिक रूपमा कमजोर तथा प्रविधिबारे पर्याप्त जानकारी नभएका युवालाई बैङ्क खाता खोल्न लगाएर त्यसको नियन्त्रण अर्कै व्यक्ति लिएर अपराधका गतिविधि गरिरहेकाले त्यस तर्फ पनि आफहुरुले निगरी बढाएको डीआईजी खनालले जानकारी दिए ।
कतिपय अवस्थामा बैङ्क खाता खोलिदिएबापत रकम दिने, रोजगारी वा आम्दानीको प्रलोभन देखाउने तथा ‘खाता प्रयोग मात्रै गर्ने’ भन्दै विश्वासमा पार्ने प्रवृत्ति देखिन्छ । खाता खुलेपछि मोबाइल बैङ्किङ, एटिएम, क्यूआर वा अन्य डिजिटल पहुँचसमेत आफ्नो नियन्त्रणमा लिएर वास्तविक कारोबार गर्ने व्यक्ति पर्दापछाडि बस्ने र खाता खोल्ने व्यक्ति अगाडि देखिने जोखिम रहेकाले आफ्नो गोपनीयता कायम गर्दै जथाभाबी रुपमा बैङ्क एकाउन्ट खोलेर अरूलाई चलाउन नदिन डीआईजी खनालले सबैसँग आग्रह गरे ।
बैङ्क खाता अवैध कारोबार, ठगी, अनलाइन सट्टेबाजी तथा अन्य आर्थिक अपराधमा प्रयोग हुनसक्ने भएकाले एउटा सामान्य बैङ्क खाता पनि अपराध अनुसन्धानको महत्त्वपूर्ण कडी बन्न सक्ने भएकाले सबैलाई सचेत बन्न आग्रह गरे । कोशी प्रदेशका सबै जिल्लामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रदेश प्रहरी कार्यालयले विभिन्न सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको डीआईजी खनालले बताए ।
प्रविधिको दुरुपयोगमा क्यूआर कोड जोखिमको अर्को माध्यम बनेबो र आफ्नो नाममा वा आफ्नै व्यवसायका नाममा रहेको क्यूआर अर्कै व्यक्तिलाई प्रयोग गर्न दिने, क्यूआरमार्फत आएको रकमको वास्तविक स्रोत नखोज्ने वा कमिसनको लोभमा डिजिटल कारोबार गर्न दिने हो भने खातावाल स्वयम् अनुसन्धानको दायरामा आउन सक्ने भएकाले यस तर्फ पनि सचेत बन्न सबैलाई डीआईजी खनालले आग्रह गरे ।
डिजिटल आर्थिक अपराधमा युवा पुस्ता दुई फरक भूमिकामा देखिन सक्ने अवस्था रहेको छ । एकातिर प्रविधिको सहज पहुँच भएका युवालाई अनलाइन बेटिङ, डिजिटल कारोबार तथा विभिन्न एपको प्रयोग गर्न सजिलो हुन्छ । अर्कोतिर यही प्रविधिको ज्ञान र आर्थिक अवसरको खोजीलाई अपराधमा संलग्न समूहले दुरुपयोग गर्न सक्ने खतरा रहेकाले विद्यालय तथा कलेजहरूमा बैङ्किङ अपराध तथा लागूऔषध नियन्त्रण लगायतका विभिन्न सचेतना मूलक कार्यक्रमहरू गर्ने गरेको डीआईजी खनालले बताए ।
उनले भने– छिटो पैसा कमाउने चाहना, सामाजिक सञ्जालबाट आउने आकर्षक प्रस्ताव, घरमै बसेर आम्दानी गर्न सकिने दाबी तथा सामान्य कामको बदलामा कमिसन दिने प्रलोभनले युवालाई जोखिमपूर्ण कारोबारतर्फ तान्न सक्छ । विशेषगरी आफ्नो बैङ्क खाता वा क्यूआर अरूलाई प्रयोग गर्न दिँदा त्यसबाट भएको कारोबारको वास्तविक प्रकृति थाहा नहुन सक्छ । तर, कानुनी अनुसन्धानमा कारोबार भएको खाता वा क्यूआरको विवरण महत्त्वपूर्ण प्रमाण बन्न सक्ने भएकाले यस तर्फ सजग बन्नु पर्छ । डिजिटल प्रविधि आफैँ अपराधको कारण होइन । यसको दुरुपयोग नै मुख्य समस्या हो भन्दै डीआईजी खनालले बैङ्क खाता, मोबाइल बैङ्किङ, क्यूआर तथा डिजिटल भुक्तानीको सुरक्षित प्रयोगबारे युवा पुस्तालाई सचेत बनाउन कोशी प्रदेश प्रहरी कार्यालयले विशेष अभियान नै सञ्चालन गरिरहेको जानकारी दिए ।
कोशी प्रदेशमा अनलाइन सट्टेबाजीविरुद्ध भएको कारबाहीले प्रहरी अनुसन्धान सक्रिय रहेको संकेत गरे पनि बदलिँदो आर्थिक अपराधसँगै अनुसन्धानको दायरा पनि फराकिलो बनाउनुपर्ने देखिएको डीआईजी खनालको भनाई छ । प्रदेश प्रहरी कार्यालयको दक्ष जनशक्ति टिमले नसकेको खण्डमा प्रहरी प्रधान कार्यालय तथा साइबर ब्यरोसंगको सहयोगमा अनुसन्धानका कामलाई तीव्रता दिदैं आएको जनाइएको छ । प्रविधिको दुरुपयोग रोक्न प्रहरी एक्लैले नसक्ने भएकाले सबै सचेत वर्गले साथ दिनुपर्ने उनको भनाई छ ।