२०८३ भाद्र २८ गते , आईतबार

भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक १५ हजार उपलब्ध गराइने

sajilo news
काठमाडौं
२०८३ भाद्र २८ गते , आईतबार
भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक १५ हजार उपलब्ध गराइने

भोटेकोशी बाढी प्रभावित नागरिकलाई मासिक १५ हजार उपलब्ध गराउने भएको छ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल्सिनाका अनुसार गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी प्रभावित ४ सदस्यसम्मको परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडाबापत मासिक १५ हजार दिइनेछ। त्यसपश्चात थप प्रत्येक सदस्यका लागि २ हजार अतिरिक्त उपलब्ध गराउने निर्णय गरेको छ।

यदि कुनै परिवारले यो सुविधा लिन नचाहेमा,सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराएको उनको भनाई छ। आवश्यक विवरण संकलनका लागि सबै सम्बन्धित स्थानीय तहमा फाराम पठाइसकिएको तिमल्सिनाले बताए।

उनका अनुसार सरकारले प्रारम्भिक क्षति तथा नोक्सानी मूल्याङ्कन सम्पन्न गरिसकेको छ भने विस्तृत आवश्यकता मूल्याङ्कन प्रक्रिया जारी छ। त्यसका आधारमा आवश्यक स्रोत सुनिश्चित गरी पुनर्निर्माण तथा पुनर्स्थापना कार्यलाई तीव्रताका साथ अघि बढाइनेछ।

रसुवा, नुवाकोट तथा बाढीबाट प्रभावित सबै क्षेत्रमा नागरिकको सुरक्षित पुनर्स्थापना, पूर्वाधार पुनर्निर्माण र जीवनयापनको पुनःस्थापनाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको तिमल्सिनाले बताए।

सम्बन्धित समाचार