२०८३ भाद्र २९ गते , सोमबार

नेपाल–भारत सीमा सुरक्षामा खटिएका एसएसबी जवानले आफैँलाई गोली हाने

sajilo news
पार्थ मण्डल
२०८३ भाद्र २८ गते , आईतबार
नेपाल–भारत सीमा सुरक्षामा खटिएका एसएसबी जवानले आफैँलाई गोली हाने

झापा । नेपाल–भारत सीमा सुरक्षामा खटिएको सशस्त्र सीमा बल (एसएसबी) का एक जवानले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । बिहारस्थित किशनगन्ज जिल्लाको जियापोखर थाना क्षेत्रअन्तर्गत ठाकुरगन्जमा रहेको एसएसबी १९औँ बटालियनको क्याम्पमा शनिवार राति सेन्ट्री पोष्टमा ड्युटीमा खटिएका जवान पश्चिम बङ्गालको पूर्व मेदिनीपुर (दीघा) निवासी २५ वर्षीय चयन मण्डलले आफैलाई गोली हानेर आत्महत्या गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले ड्युटीमा प्रयोग गर्ने सरकारी सर्भिस राइफलबाट आफैँलाई गोली हानेका थिए । गोली हान्ने कारण भन्ने खुल्न सकेको छैन । एसएसबी क्याम्पभित्र राति अचानक गोली चलेको आवाज सुनिएपछि अन्य सुरक्षाकर्मी र स्थानीयमा हल्लाखल्ला मच्चिएको थियो।  घटनाको जानकारी पाए लगत्तै एसएसबी १९औँ बटालियनका डिप्टी कमान्डेन्ट विकास कुमार पाण्डेयले घटनाको बारेमा स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराएका थिए।

साथै एसएसबीका डीआईजी एके सिंहसमेत तत्काल क्याम्प पुगेर घटनास्थलको निरीक्षण गरेका थिए। घटनापछि मृतक जवानको शव पोस्टमार्टमका लागि पठाइएको थियो । घटनाबारे त्यहाँका प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार