इलाम दुर्घटना : आमा–छोरीको एउटै घाटमा अन्त्येष्टि
एउटै दुर्घटनामा घाइते भएका इलाम नगरपालिका–८, तिल्केनीकी कविता श्रेष्ठ र उनकी करिब आठ वर्षीया छोरी सुस्मिता श्रेष्ठको आज (आइतबार) एउटै घाटमा अन्त्येष्टि गरिएको छ ।
भदौ २६ गते फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा भएको अटो दुर्घटनामा गम्भीर घाइते आमा–छोरीको उपचारका क्रममा मृत्यु भएको थियो । छोरी सुस्मिताको भदौ २६ गते राति र आमा कविताको भदौ २७ गते बिहान झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
माइतीघर हाङ्मासुली जाने क्रममा अटो दुर्घटनामा परेका आमा–छोरीको सामाजिक परम्पराअनुसार इलामको बज्रदेवीघाटमा एकैसाथ अन्त्येष्टि गरिएको हो । एउटै दुर्घटनामा घाइते भएका आमाछोरीलाई उपचारका क्रममा गुमाएपछि परिवारजन तथा आफन्त शोकमा डुबेका छन् ।
शुक्रबार साँझ करिब ५ बजे मंगलबारेबाट हाङ्मासुलीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००३ ह ६९६७ नम्बरको अटो पोखरी–कमेरे सडक खण्डमा अनियन्त्रित भएर सडकबाट करिब दुई मिटर तल खसेको थियो । दुर्घटना लगत्तै पेट्रोल लिकेज भएर अटोमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीमा शरीरका विभिन्न भाग जलेर गम्भीर घाइते भएकी सुस्मिताको भदौ २६ गते राति उपचारका क्रममा मृत्यु भएको थियो । उनकी आमा कविताको पनि भदौ २७ गते बिहान करिब ६ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटो चालक फाकफोकथुम–६, पोखरी बजारका करिब ३५ वर्षीय लोकबहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको शरीरका विभिन्न भाग जलेको र बी एन्ड सी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा देउमाई नगरपालिका–४, मङ्गलबारेकी करिब २२ वर्षीया दुर्गादेवी श्रेष्ठ, झापाको कनकाई नगरपालिका–माइधारकी करिब ४० वर्षीया रमाकुमारी श्रेष्ठ र फाकफोकथुम–६, हाङ्मासुलीकी २७ वर्षीया मन्दिरा थापा पनि घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।