२०८३ भाद्र २९ गते , सोमबार

रास्वपाका नेता भन्दै धम्क्याउँदै हिँड्ने हल्दिबारीका विश्वकर्मा पक्राउ

sajilo news
झापा
२०८३ भाद्र २९ गते , सोमबार
रास्वपाका नेता भन्दै धम्क्याउँदै हिँड्ने हल्दिबारीका विश्वकर्मा पक्राउ

झापामा आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेता भनेर धम्क्याउँदै हिँड्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका-१ बस्ने २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन् । विभिन्न सरकारी तथा राजनैतिक पदमा रहेको भनी परिचय दिँदै उनले सरकारी कार्यालय, बैठक तथा विभिन्न शैक्षिक संस्थाहरूमा प्रवेश गर्ने एवं दबाब तथा धाक धम्की दिने कार्य गर्दै आएका थिए ।

उनले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भनी झुटो परिचय दिने गरेका थिए । उनले दाबी गरेको पद तथा जिम्मेवारी वास्तविक नभएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

झापा जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले बताए । विश्वकर्माले कसैलाई झुटो परिचय दिई कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानि नोक्सानी पुऱ्याएको भएमा जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्नुहुन अधिकारीले अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार