झापामा म्याद गुज्रिएका र दोब्बर मूल्यमा सामान बेच्ने दुई व्यवसायी कारबाहीमा
झापामा म्याद गुज्रिएका र बजारभन्दा दोब्बर बढी मूल्यमा सामान बिक्री गर्ने दुई व्यवसायी कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका-९ स्थित दास किराना पसल र बुद्धशान्ति गाउँपालिका–३ बुधवारेस्थित शिवम् ट्रेड एन्ड सप्लायर्सका सञ्चालक कारबाहीमा परेका हुन् ।
गत भदौ २२ गते मेचीनगरस्थित दास किराना पसलले गाईभैंसीलाई खुवाइने दाना म्याद गुज्रिएको अवस्थामा विक्री गरेको भन्ने उपभोक्ता जागरण अभियान नेपालमार्फत गुनासो प्राप्त भएपछि प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको नेतृत्वमा खाद्य प्रविधि कार्यालय, इलाका प्रहरी कार्यालय, वडा कार्यालय समेतको उपस्थितिमा उक्त पसलको अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा वीरगञ्जको प्रो–बायोटेक इन्डस्ट्रिज लिमिटेडद्वारा उत्पादित ‘शक्ति ब्रान्ड’का बी–२१, बी–२२, बी–२३ र बी–२४ ब्याच नम्बरका १४ बोरा अर्थात् ४९० किलोग्राम दाना म्याद गुज्रिएको अवस्थामा बरामद भएको थियो । म्याद गुज्रिएको दाना विक्री वितरण गरेको ठहरसहितको अनुगमन प्रतिवेदनका आधारमा दुई लाख रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै सोमबार बुद्धशान्ति –३ बुधवारेस्थित शिवम् ट्रेड एन्ड सप्लायर्सले प्रचलित बजारभन्दा दोब्बर बढी मूल्यमा काँडेतार विक्री गरिरहेको भन्ने उजुरी प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा आन्तरिक राजश्व कार्यालय र उपभोक्ता हित संरक्षण संस्थाका प्रतिनिधि समेत रहेको टोलीले अनुगमन गरेको थियो । अनुगमनको क्रममा टोलीले आवश्यक अनुसन्धानका लागि शिवम् ट्रेड एन्ड सप्लायर्सका प्रोप्राइटरलाई तीन दिनभित्र आर्थिक वर्ष २०८२र८३ का बिल बिजक, खाता र अन्य कागजातसहित आन्तरिक राजस्व कार्यालय भद्रपुरमा उपस्थित हुन लिखित निर्देशन दिएको छ ।