२०८३ भाद्र ३० गते , मंगलबार

जलवायु निगरानीका लागि दुई उपग्रह प्रक्षेपण

sajilo news
रासस
२०८३ भाद्र ३० गते , मंगलबार
जलवायु निगरानीका लागि दुई उपग्रह प्रक्षेपण

जलवायु परिवर्तनका कारण बढिरहेका चरम मौसमी घटनाको प्रभाव र पृथ्वीको वातावरणीय अवस्था निगरानी गर्न युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले दुई पृथ्वी अवलोकन उपग्रह सफलतापूर्वक कक्षामा पठाएको छ ।

फ्रान्सेली गुयानास्थित कौरौ अन्तरिक्ष केन्द्रबाट सोमबार राति ‘वेगा–सी’ रकेटमार्फत ‘फ्लेक्स’ र ‘सेन्टिनेल–३ सी’ उपग्रह प्रक्षेपण गरिएको हो । प्रक्षेपणको करिब दुई घण्टापछि दुवै उपग्रहलाई सूर्यसँग समकालिक कक्षामा स्थापित गरिएको एएफपीले जनाएको छ ।

‘फ्लेक्स’ उपग्रहले उष्ण लहरलगायत जलवायु परिवर्तनका कारण वनस्पतिमा पर्ने असरबारे तथ्याङ्क सङ्कलन गर्नेछ । यसले प्रकाश संश्लेषणका क्रममा वनस्पतिले उत्सर्जन गर्ने रातो प्रकाशको सूक्ष्म चमकको निगरानी गरी वनस्पतिमा देखिने तनाव र वातावरणीय परिवर्तनबीचको सम्बन्ध अध्ययन गर्नेछ ।

युरोपेली सङ्घ (इयु) को कोपर्निकस पृथ्वी अवलोकन कार्यक्रमअन्तर्गतको ‘सेन्टिनेल–३ सी’ ले समुद्रको तापक्रम, छालको उचाइ र समुद्री धाराका साथै जमिनको प्रयोग तथा भू–आवरणसम्बन्धी तथ्याङ्क सङ्कलन गर्नेछ । प्राप्त तथ्याङ्कले समुद्री वातावरणमा भइरहेका परिवर्तन बुझ्न र कृषि उत्पादन अनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

इएसएको पृथ्वी अवलोकन कार्यक्रमकी निर्देशक सिमोनेटा चेलीले जलवायु परिवर्तनको चुनौती सामना गर्न यस्ता अन्तरिक्ष अभियान आवश्यक रहेको बताइन् । उनका अनुसार उपग्रहबाट प्राप्त तथ्याङ्कले पृथ्वीमा भइरहेका वातावरणीय परिवर्तनको निरन्तर निगरानीमा महत्वपूर्ण सहयोग पु¥याउनेछ ।

सम्बन्धित समाचार