धुलाबारी कुटपिट घटना : प्रहरीमाथि चर्को दबाबपछि १३ दिनमा पक्राउ परे दुईजना आरोपी पक्राउ
झापा । मेचीनगर नगरपालिका–९ का धर्मप्रसाद ओलीलाई कुटपिट गरी घाइते बनाएको घटनामा झापा प्रहरीले घटना भएको १३ दिनपछि दुई जनालाई पक्राउ गरेको छ ।
कुटपिटको सीसीटीभी फुटेज विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भइसके पनि लामो समयसम्म आरोपित पक्राउ नपरेपछि प्रहरीमाथि चर्को दबाब परेको थियो । घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग उठेपछि बल्ल झापा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार फरार रहेका आरोपितहरूको खोजतलास गर्ने क्रममा सोमबार मोरङको कानेपोखरी गाउँपालिका–७ घर भई हाल मेचीनगर नगरपालिका–९ स्थित मुनाल सेक्युरिटीमा काम गर्ने ३१ वर्षीय आशिष् लिम्बूसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भई हाल मेचीनगर नगरपालिका–९ बस्दै आएका पासाङ तेन्जिङ तामाङलाई मंगलबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीमाथि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका दुई जनाको घटनामा संलग्नता, उनीहरूको भूमिकालगायत विषयमा अनुसन्धान भइरहेको छ । घटनामा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।
के भएको थियो घटना ?
भदौ १७ गते मेचीनगर नगरपालिका–१० स्थित नन्दा पेट्रोल पम्पमा काम गर्ने मेचीनगर नगरपालिका–९ निवासी ४३ वर्षीय धर्मप्रसाद ओलीलाई ४।५ जनाको समूहले कुटपिट गरेको थियो ।
सामान्य विषयमा भनाभन भएपछि समूहले ओलीमाथि सार्वजनिक स्थलमै सामूहिक रूपमा कुटपिट गरेको बताइएको छ । कुटपिटबाट ओली घाइते भएका थिए । घटनापछि कुटपिटमा संलग्न व्यक्तिहरू फरार भएका थिए । पीडित पक्षले घटनामा संलग्न सबैलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै आएको थियो ।
घटनाको सीसीटीभी फुटेजसमेत बाहिरिएपछि कुटपिटमा संलग्न व्यक्तिहरूको पहिचान गरी तत्काल पक्राउ गर्नुपर्ने आवाज उठेको थियो । तर, घटना भएको लामो समयसम्म आरोपित पक्राउ नपरेपछि प्रहरीको अनुसन्धान तथा सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको थियो । घटनामा संलग्न मुख्य आरोपितसहित अन्य व्यक्तिहरू अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
झापाका ६ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए, ५२ अधिकृतको सरुवा
उपभोक्ता जागरण अभियान झापाको नयाँ नेतृत्वले गर्यो कार्य योजना सार्वजनिक
पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा