२०८३ भाद्र ३० गते , मंगलबार

पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा

sajilo news
झापा
२०८३ भाद्र ३० गते , मंगलबार
पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

भोटेकोशी नदीमा आएको असाधारण बाढीका कारण सिर्जित कठिन परिस्थितिलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले भदौ ३१ गतेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको साबिककै खुद्रा बिक्री मूल्य कायम राख्ने निर्णय गरेको हो।

निगमका अनुसार भदौ ३० गते आइओसीबाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा तथा डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा बढेर आएको थियो। मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उतारचढाव भइरहेको निगमले जनाएको छ।

खरिद मूल्य बढे पनि उपभोक्तालाई राहत दिने उद्देश्यले खुद्रा बिक्री मूल्यमा तत्काल समायोजन नगरिएको हो। निर्णयअनुसार पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम रहनेछ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज रहेका छन्। त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल रहेका छन्।

यसैगरी आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ कायम गरिएको छ। काठमाडौँका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर १ हजार ६९७ अमेरिकी डलर यथावत् राखिएको छ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा पनि कुनै परिवर्तन गरेको छैन। १४।२ किलोग्रामको एक सिलिन्डर एलपी ग्यासको मूल्य २ हजार ६० रुपैयाँ नै कायम गरिएको छ।

तर, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य बढिरहँदा नेपालमा खुद्रा बिक्री मूल्य समायोजन नगर्दा निगमको घाटा भने थप बढ्ने भएको छ। निगमका अनुसार पछिल्लो मूल्यअनुसार बिक्री मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

बाढीबाट प्रभावित नागरिक तथा देशको कठिन परिस्थितिलाई ध्यानमा राखेर तत्काल मूल्य वृद्धि नगर्ने निर्णय गरे पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा हुने थप परिवर्तनले आगामी दिनमा निगमको वित्तीय अवस्थामाथि थप दबाब पर्ने देखिएको छ।

सम्बन्धित समाचार