२०८३ भाद्र ३० गते , मंगलबार

उपभोक्ता जागरण अभियान झापाको नयाँ नेतृत्वले गर्‍यो कार्य योजना सार्वजनिक

sajilo news
झापा
२०८३ भाद्र ३० गते , मंगलबार
उपभोक्ता जागरण अभियान झापाको नयाँ नेतृत्वले गर्‍यो कार्य योजना सार्वजनिक

गुणस्तरीय सेवा र वस्तु उपभोग गर्न पाउनु प्रत्येक उपभोक्ताको अधिकारलाई सुरक्षित गर्ने उद्देश्यले झापामा गठित उपभोक्ता जागरण अभियान नेपालले झापामा नयाँ नेतृत्व चयनसँगै अभियानलाई तीव्रता दिएको छ ।

अभियानले झापामा दोस्रो जिल्ला अधिवेशन सम्पन्न गर्दै जिल्लामा भएका उपभोक्ता हित सम्बन्धी भएका गतिविधि तथा भावी कार्य योजना सार्वजनिक गरेको हो । अभियान झापाको अधिवेशनले शालिकराम भट्टराईको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरेको र झापामा उपभोक्ता हितका लागि गरेको काम तथा कारबाहीसमेत मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा इन्द्रप्रसाद ओली, सचिवमा देवीभक्त आचार्य, सह–सचिवमा कल्पना भट्टराई र कोषाध्यक्षमा शेखरनाथ अधिकारी चयन भएका छन् । यसैगरी सदस्श्यहरुमा अर्जुन कार्की, कमला शिवाकोटी, धमेन्द्र गुप्ता, राजन पौडेल, थीरप्रसाद खतिवडा, उदयनारायण ढुङ्गाना, विदुर तिवारी र अनुप निरौला रहेका छन् । यस्तै अधिवेशनले कुलप्रसाद ओडारी, अनिता दाहाल, जीवन खड्का, राजीव धिमाल रहेको सल्लाहकार समितिसमेत चयन गरेको उपाध्यक्ष इन्द्रप्रसाद ओलीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा संस्थाका जिल्ला अध्यक्ष शालिकराम भट्टराईले जिल्लामा उपभोक्ता अधिकार संरक्षणका लागि गरिएका कामहरूको विवरण प्रस्तुत गरेका थिए । उनले मेचीनगर–९ मा म्याद गुज्रिएको दाना बिक्री गर्ने दास किराना पसललाई अनुगमनपछि सरोकारवालाहरूसँगको समन्वयमा खाद्य सुरक्षा ऐन बमोजिम दुई लाख रुपैयाँ जरिवाना गराइएको, बिर्तामोड–९ मा न्वारानको भोज खाएपछि ६० जनाभन्दा बढी जन्ती तथा आफन्त बिरामी परेको घटनामा संलग्न भनिएको गणेश फ्रेस हाउसको संयुक्त अनुगमन गरी सरसफाइ सुधार गर्न निर्देशन दिइएको, बुद्धशान्ति–३ स्थित शिवम् ट्रेड एन्ड सप्लायर्सले प्रचलित बजार मूल्यभन्दा दोब्बर मूल्य (१२५ रुपैयाँ पर्ने काँडेतारलाई ३६० रुपैयाँ) लिएको उजुरीपछि आन्तरिक राजस्व कार्यालयमार्फत अनुसन्धान अघि बढाइएको छ ।

यसैगरी प्रादेशिक अस्पताल भद्रपुरमा एक सेवाग्राहीसँग औषधीको वास्तविक मूल्य १९५० रुपैयाँ हुनुपर्नेमा झुक्किएर ६ हजार ८६८ रुपैयाँ लिएको विषय सामाजिक सञ्जालमा आएपछि अभियानको पहलमा अस्पतालले बढी रकम फिर्ता गरेको प्रतिवेदनमा उल्लेख छ ।

अभियान नेपालको विधान बमोजिम पालिकास्तरमा हाल मेचीनगर, अर्जुनधारा, बिर्तामोड नगरपालिकामा मात्र पालिका समिति गठन भएका र बाँकी पालिकाहरूमा समिति गठन गर्नुपर्ने भएकोले जिल्ला समितिको समन्वयमा आगामी दुई वर्ष भित्र गठन गरिसक्ने, अभियान नेपाल, जिल्ला कार्य समिति झापाले युवाहरूमा बढ्दो कुलत र लागूपदार्थ दुव्र्यशनको सेवन र प्रयोगलाई न्यूनीकरण गर्न तथा उपभोक्ता सचेत गर्नको लागि नेपालको सबै भन्दा होचो भाग कचनकवलदेखि बाहुण्डाँगी सम्म विभिन्न प्ले–कार्ड, ब्यानर र नारा सहितको सचेतना र्‍याली सञ्चालन गर्ने, उपभोक्तालाई जागरूक बनाउन उपभोक्ता शिक्षा प्रत्येक उपभोक्तालाई दिने लगायतका आगामी योजना गरेको बताइएको छ ।

पत्रकार सम्मेलनमा अभियानका केन्द्रीय उपाध्यक्ष राजेन्द्रकुमार घिमिरेले उपभोक्ताले खरिद गर्न चाहेको वस्तु वा सेवाको मूल्य, परिणाम, शुद्धता र गुणस्तर बारेमा सूचित गर्ने अभियानको उद्देश्य रहेको बताए ।

सम्बन्धित समाचार