झापाका ६ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए, ५२ अधिकृतको सरुवा
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५२ जना शाखा अधिकृतको सरुवा तथा कामकाजका लागि खटाउने निर्णय गरेको छ। मन्त्रालयले गरेको निर्णयअनुसार त्यसमा झापाका ६ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसमेत हेरफेर भएको छ।
मन्त्रालयको निर्णयअनुसार कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाल गृह मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन्। उनको स्थानमा पाँचथरको फालेलुङ गाउँपालिकामा कार्यरत सुमन याङ्यालाई कामकाजका लागि खटाइएको छ।
त्यस्तै, गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा भूमि व्यवस्थापन तथा अभिलेख विभाग, काठमाडौं सरुवा भएका छन्। उनको ठाउँमा भोजपुरको हतुवागढी गाउँपालिकामा कार्यरत महेश निरौलालाई खटाइएको छ।
हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन सूचना तथा सञ्चार मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन्। उनको स्थानमा भोजपुरको पौवादुङ्मा गाउँपालिकाका नवीन भट्टराईलाई कामकाजका लागि खटाइएको छ।
यसैगरी, कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोख्रेल पनि सूचना तथा सञ्चार मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन्। उनको ठाउँमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका विमल गौतमलाई खटाइएको छ।
झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलालाई पाँचथरको कुम्मायक गाउँपालिकामा सरुवा गरिएको छ। उनको स्थानमा सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीलाई झापा गाउँपालिकामा कामकाजका लागि खटाइएको छ।
बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया पनि सूचना तथा सञ्चार मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन्। तर, मन्त्रालयको निर्णयमा बाह्रदशी गाउँपालिकाका लागि नयाँ प्रमुख प्रशासकीय अधिकृतको नाम भने उल्लेख गरिएको छैन।
झापामा कार्यरत अन्य कर्मचारीको पनि सरुवा
मन्त्रालयले झापामा कार्यरत अन्य कर्मचारीको जिम्मेवारीसमेत हेरफेर गरेको छ। निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय झापाका प्रशासन अधिकृत कमलप्रसाद ढुंगेललाई इलामको फाकफोकथुम गाउँपालिकामा खटाइएको छ।
त्यस्तै, दमकस्थित मालपोत कार्यालयका भूमि राजस्व अधिकृत कमल पनेरूलाई पाँचथरको हिलिहाङ गाउँपालिकामा र झापा कारागारका शाखा अधिकृत रेवन्त भट्टराईलाई इलामको रोङ गाउँपालिकामा कामकाजका लागि खटाइएको छ।
सम्बन्धित समाचार
झापाका ६ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए, ५२ अधिकृतको सरुवा
उपभोक्ता जागरण अभियान झापाको नयाँ नेतृत्वले गर्यो कार्य योजना सार्वजनिक
पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा