२०८३ आश्विन २ गते , शुक्रबार

झापामा आजदेखि इक्यान लिडर्स मिट ३.०

sajilo news
झापा
२०८३ आश्विन २ गते , शुक्रबार
झापामा आजदेखि इक्यान लिडर्स मिट ३.०

बिर्तामोड ।  नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को तेस्रो संस्करणको ‘इक्यान लिडर्स मिट ३.०’ आजदेखि झापाको बिर्तामोडमा शुरु हुँदैछ। तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने बताइएको छ । 

इक्यान झापाको आतिथ्यमा बिर्तामोडस्थित किङ्सबरी होटलमा असोज ४ गतेसम्म सञ्चालन हुने कार्यक्रममा देशभरबाट इक्यानको केन्द्रीय नेतृत्व, शाखा तथा समन्वय संरचनाका नेतृत्वसहित करिब १५० प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ।

संस्थागत सुदृढीकरण, नेतृत्व विकास, सुशासन तथा नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको आगामी दिशाबारे साझा दृष्टिकोण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीले बताए। उनका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ भने सहभागी तथा अतिथिहरू आउने क्रम शुरु भएको छ।

कार्यक्रममा नेतृत्व विकास, संस्थागत सुशासन, रणनीतिक सोच, वित्तीय व्यवस्थापन, सञ्चार सीप तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका समसामयिक विषयमा प्रशिक्षण र अन्तरक्रिया हुनेछन्। विभिन्न प्रदेश तथा जिल्लाबाट आएका इक्यान नेतृत्वबीच अनुभव आदानप्रदान, सफल अभ्यासको साझेदारी, संस्थागत सञ्जाल विस्तार तथा रणनीतिक समन्वयका विषयमा समेत छलफल हुनेछ।

लिडर्स मिटको मुख्य उपलब्धिका रूपमा ‘झापा घोषणापत्र’ जारी गर्ने तयारी गरिएको छ। घोषणापत्रमार्फत नेपालको ग्लोबल एजुकेसन मोबिलिटीको वर्तमान अवस्था, सम्भावना, चुनौती तथा आगामी दिशाबारे इक्यानको संस्थागत दृष्टिकोण सार्वजनिक गरिने अध्यक्ष कार्कीले बताए। घोषणापत्रमा विद्यार्थी हित, नैतिक व्यावसायिक अभ्यास, संस्थागत जबाफदेहिता, अन्तर्राष्ट्रिय साझेदारी तथा सरकारसँगको नीतिगत संवादलगायत विषयलाई प्राथमिकता दिइनेछ।

इक्यानका अनुसार हाल ७५० भन्दा बढी सदस्य संस्था संघमा आबद्ध छन्। पछिल्लो समय विदेश अध्ययनका लागि नेपाली विद्यार्थीको बढ्दो आकर्षण, गन्तव्य मुलुकका शिक्षा तथा अध्यागमन नीतिमा भइरहेको परिवर्तन र डिजिटल प्रविधिको विस्तारसँगै शैक्षिक परामर्श क्षेत्रसमेत परिवर्तन हुँदै गएको छ। यस्तो अवस्थामा विद्यार्थी र अभिभावकलाई परामर्श दिने भूमिकासँगै अन्तर्राष्ट्रिय शैक्षिक संस्था, सरकार तथा सरोकारवाला निकायबीच जिम्मेवार र विश्वसनीय शैक्षिक सम्बन्ध निर्माणमा संस्थागत भूमिका बढाउनुपर्ने आवश्यकता रहेको इक्यान झापाका निवर्तमान अध्यक्ष रोशन सुवेदीले बताए।

झापामा देशभरका इक्यान नेतृत्वलाई सहभागी गराएर कार्यक्रम आयोजना हुनुले कोशी प्रदेशको अन्तर्राष्ट्रिय शिक्षा तथा शैक्षिक परामर्श क्षेत्रको सम्भावना र चुनौतीबारे राष्ट्रिय तहमा बहसको आधार तयार हुने आयोजकको विश्वास छ। कार्यक्रमले झापासहित कोशी प्रदेशको शैक्षिक क्षेत्रको विकास र अन्तर्राष्ट्रिय शैक्षिक सम्बन्ध विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। तीन दिनसम्म सञ्चालन हुने कार्यक्रम सम्पन्न गर्न इक्यान झापाको सम्पूर्ण टोली उत्साहपूर्वक परिचालन भएको अध्यक्ष कार्कीले बताए।

सम्बन्धित समाचार