उद्योग व्यवस्थापनमा एआई प्रयोगबारे झापामा अभिमुखीकरण
भद्रपुर । झापाका उद्योगी–व्यवसायीहरुलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग, सम्भावना र उपयोगिताबारे अभिमुखीकरण दिइएको छ ।
झापा उद्योग संघको आयोजनामा भएको कार्यक्रममा ‘ट्रान्सफर्मिङ इन्डस्ट्रियल म्यानेजमेन्ट थ्रु एआई’ विषयक कार्यक्रममा उद्योगी, व्यवसायी तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा एआई प्रविधिको प्रयोगमार्फत उद्योग सञ्चालनलाई सहज, प्रभावकारी र आधुनिक बनाउन सकिने विषयमा छलफल गरिएको थियो। सो कार्यक्रमको सहजिकरण पत्रकार उमाकान्त खनालले गरेका थिए ।
उद्योग तथा व्यवसाय सञ्चालनमा एआई प्रविधिको प्रयोग, व्यवस्थापन प्रणालीको सुधार तथा डिजिटल प्रविधिबाट उत्पादनशीलता वृद्धि गर्ने विषयमा जानकारी गराइएको थियो। पछिल्लो समयमा एआई प्रविधिले उद्योग तथा व्यापार क्षेत्रलाई थप प्रभावकारी र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विषयमा चर्चा गरिएको थियो ।
उद्योग संघका अध्यक्ष शिवकुमार गुप्ताले उद्योग तथा व्यवसाय सञ्चालनमा नवीन प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको बताए । उद्योगी–व्यवसायीलाई एआईलगायत आधुनिक प्रविधिबारे जानकारी गराई त्यसको व्यावहारिक प्रयोगतर्फ प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । उनका अनुसार प्रविधिको विकाससँगै उद्योग व्यवस्थापनको शैलीसमेत परिवर्तन भइरहेको अवस्थामा झापाका उद्योग तथा व्यवसायलाई समयअनुकूल बनाउन यस्ता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ।