मिसेस नेपाल वर्ल्डको लागि २२ प्रतिस्पर्धी छनोट
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह बिहीबार साँझ काठमाडौंमा सम्पन्न भएको छ । समारोहसँगै प्रतियोगिताको अन्तिम स्पर्धाका लागि २२ जना प्रतिस्पर्धी औपचारिक रूपमा छनोट भएका छन् ।
काठमाडौंमा आयोजित समारोहमा देशका विभिन्न स्थानमा सम्पन्न अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई विभिन्न क्षेत्रका ख्यातिप्राप्त तथा सफल व्यक्तित्वले ट्याग नम्बर र स्यास प्रदान गरेका थिए । समारोहमा प्रतिस्पर्धीहरूले आफ्नो परिचयसमेत प्रस्तुत गरेका थिए ।
यस वर्षको अन्तिम स्पर्धामा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन रहेका छन् ।
आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार प्रतियोगितामा विभिन्न पेसा र क्षेत्रका महिलाको सहभागिता रहेको छ । गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, स्वास्थ्यसेवी, फेसन डिजाइनर, नर्स तथा व्यवस्थापकसम्मका महिला अन्तिम स्पर्धाका लागि छनोट भएका छन् ।
आयोजक शिला बास्तोलाले प्रतियोगिताले विभिन्न पेसामा सक्रिय रहेका तथा पारिवारिक जिम्मेवारी सम्हालिरहेका महिलालाई आफ्नो प्रतिभा, क्षमता र व्यक्तित्व प्रस्तुत गर्ने अवसर प्रदान गर्ने बताइन् ।
प्रतियोगिताको ग्रान्ड फिनाले आगामी कात्तिक १४ गते नेपाल पुलिस क्लबमा आयोजना हुने आयोजकले जनाएको छ । प्रतियोगिताबाट छानिने ‘मिसेस नेपाल वर्ल्ड’ विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् ।
यस्तै, सोही मञ्चबाट ‘मिसेस नेपाल इन्टरनेसनल’, ‘एमएस इन्टरनेसनल’ र ‘मिसेस कोस्मो’का विजेतासमेत चयन गरिनेछ । ती उपाधिका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजकले जनाएको छ ।
अश्विनी झाको कोरियोग्राफी तथा निशा बराइलीको सह(कोरियोग्राफीमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतिस्पर्धीलाई सन्दीप भुजेलले नृत्य प्रशिक्षण दिनेछन् ।
गङ्गा महर्जन र विन्दिया श्रेष्ठको संयोजनमा करिब ४५ दिनसम्म विभिन्न प्रशिक्षण तथा प्रतिस्पर्धात्मक गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रशिक्षण तथा तयारीपछि प्रतिस्पर्धीहरू अन्तिम उपाधिका लागि ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन् ।