२०८३ आश्विन ४ गते , आईतबार
सुनसरीमा रुखको हाँगाले लागेर एक महिलाको मृत्यु
सुनसरीमा हावाहुरीका कारण भाँचिएको रुखको हाँगाले लागेर एक महिलाको मृत्यु भएको छ । सुनसरी प्रहरीका अनुसार बर्जु गाउँपालिका–६ चिमडीका हेमनारायण यादवकी श्रीमती ३८ वर्षीया सीता यादवको मृत्यु भएको हो । आइतबार दिउँसो करिब २ बजेतिर सीता बर्जु तालनजिकै गाईवस्तुका लागि घाँस काट्न गएकी थिइन् ।
सोही क्रममा अचानक आएको हावाहुरीले सिमलको रुखको हाँगा भाँचिएर उनलाई लागेको थियो । हाँगाले किचिएर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि विराटनगरको मोरङ सरकारी अस्पताल ल्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि दिउँसो ४ः२८ बजेतिर मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगियो । विराट पुर्याएको केहीबेरमै सीतालाई चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।