मेचीनगरमा गाडिएको अवस्थामा एक व्यक्तिको कंकाल भेटियाे, दुई जना पक्राउ
झापाको मेचीनगर–७ गैरीगाउँस्थित एक बंगुर फार्म पछाडि गाडिएको अवस्थामा एक व्यक्तिको कंकाल फेला परेकाे छ । प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा म्याग्दी घर भई हाल मेचीनगर नगरपालिका- १० बस्ने वर्ष ४५ का राम भन्ने गुप्तबहादुर सिंह र भारत जिल्ला आलेपुर विरपारा घर भई हाल मेचीनगर नगरपालिका-८ बस्ने वर्ष ४९ का संजय लामा रहेका छन् । उक्त कंकाल करिब दुई वर्षदेखि बेपत्ता दिलनाथ बजगाईँको हुन सक्ने आशंका गरिएको छ ।
ललितपुर जिल्ला साविक मनिखेल हाल महाङकाल गाउँपालिका-१ स्थायी वतन भएका दिलनाथ बजगाई २०८१ कात्तिक २९ गतेदेखि मेचीनगर नगरपालिका-६ काँकडभिट्टाबाट एकाएक बेपत्ता भएका थिए ।
त्यस सम्बन्धमा उनकी श्रीमती तुलसा बुढा बजागाईले प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् । त्यस सम्बन्धमा अनुसन्धान गर्ने क्रममा हराइरहेका बजगाई सँगसँगै हिड्ने उनकै साथी राम भनिने गुप्तबहादुर सिंह समेतलाई सोधपुछ गर्दा उनले घटनाबारे स्वीकार गरेका थिए ।
उनले देखाए बमोजिमको स्थान मेचीनगर नगरपालिका-७ भान्सा खोला (गैरीगाउँ) स्थित जयप्रसाद तिवारीको जग्गामा रहेको प्रतिवादी राम भन्ने गुप्तबहादुर सिंहले संचालन गरेको बंगुर फर्मभित्र बुधबार प्रहरी टोलीले उत्खनन् गरेको थियो । स्थानीय मानिस र जनप्रतिनिधिहरु समेतको रोहबरमा जेसीबी लगाई उत्खनन् गर्दा मानव आकृति देखिने कङ्काल फेला परेको थियो । त्यसलाई परीक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
उक्त कंकाल दिलनाथ बजगाईको हो वा होइन एकिन गर्नको लागि बरामदित कंकालको प्रादेशिक अस्पताल भद्रपुरमा शव परीक्षणपश्चात् नमूना परीक्षणको लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउने प्रकिया भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।