बिर्तामोडमा एनके प्युरिफाइरको ‘लक्की ड्र’मा धाँधलीको आरोप, ग्राहकले घेरे प्रहरी कार्यालय
झापाको बिर्तामोडमा एनके प्युरिफाइर कम्पनीले सञ्चालन गरेको भनिएको ‘लक्की ड्र’ कार्यक्रममा धाँधली गरिएको आरोप लागेपछि विवाद उत्पन्न भएको छ।
बिर्तामोड नगरपालिका–५ स्थित सिटी सेन्टरमा रहेको साई पार्टी प्यालेसको सभाहलमा बुधबार दिउँसो करिब ३ः३० बजे आयोजित अन्तिम उपहार घोषणा कार्यक्रममा सहभागी ग्राहकहरूले कम्पनीले घोषणा गरेको शर्त तथा नियमअनुसार उपहार कार्यक्रम सञ्चालन नगरेको भन्दै विरोध जनाएका हुन्। एन.के. नेपाल ट्रेड एण्ड सप्लायर्स नामक कम्पनीले विगत केही वर्षदेखि किस्तामा पानी शुद्धीकरण गर्ने उपकरण बिक्री गर्दै ‘हात खाली नजाने उपहार’ लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको ग्राहकहरूको भनाइ छ। सोही कार्यक्रमअन्तर्गत बुधबार फाइनल उपहारको घोषणा गर्ने तयारी गरिएको थियो।
तर उपहार छनोट तथा लक्की ड्रको प्रक्रियाप्रति ग्राहकहरूले प्रश्न उठाएपछि कार्यक्रमस्थलमा विवाद चर्किएको हो। ग्राहकहरूले लक्की ड्र पारदर्शी नभएको, घोषित नियम र शर्त पालना नगरिएको तथा उपहार वितरणमा अनियमितता भएको आरोप लगाएका छन्।
विवाद बढ्दै गएपछि कार्यक्रमस्थलमा हल्ला तथा होहल्ला भएको र प्रहरीले कम्पनीका कर्मचारी तथा सञ्चालक समितिसँग सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा लगेको बताइएको छ।
कार्यक्रममा सहभागी करिब दुई सय जना ग्राहकसमेत प्रहरी कार्यालयबाहिर भेला भएर घटनाको छानबिन तथा दोषीमाथि कारबाहीको माग गरिरहेका छन्। याे कम्पनीले ९ हजार ९ सय ९९ जना सर्वसाधारणबाट प्रतिब्यक्ति करिब ३८ हजार रुपैयाँकाे दरले ३७ कराेड ९९ लाख ६२ हजार रुपैयाँ रकम असुलेकाे आराेप छ ।
बिर्तामोडमा एनके , ब्राभो , साक्षी , युटर्नजस्ता नेटवर्किङ कम्पनीहरुले हजारौ सर्वसाधारणलाई ठगी गर्दै आएका छन् । केही दिनअघि बिर्तामोड प्रहरीले ग्लोबल ओरियन्स कम्पनीको कार्यालयमा छापा मारी ४१ जनालाई पक्राउ गरेको थियो ।